१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिनाश गाउँपालिकाः घरघरमा खानेपानी, सर्वसाधारण खुशी




जेठ २९, स्याङ्जा । कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् ।

एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ ।

गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा सबैका घर घरमा खानेपानीको धारा जडान भएपछि बासिन्दाले सरसफाइदेखि करेसाबारीसम्म पानी प्रयोग गरेका छन् ।

हरिनाश ३ चिसापानीकी रीता गुरुङले पहिला खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुशी लागेको बताइन् । उनी भन्छिन्, “पहिला पहिल पानीको लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपर्थ्यो, अहिले घरघरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ, पानीको लागि खर्च गर्ने समयमा अरु काम गर्न पाइएको छ ”, उनले भनिन् । घरघरमा पानी आएपछि गाउँवासीले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेको उनी बताउछिन् ।

गाउँपालिकाको ३२ लाख र परियोजनाको ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र बाँकी स्थानीयवासीको जनश्रमदान गरी एक करोड २६ लाखको लागतमा निर्माण भएको योजनामा स्थानीयवासीले ९३ दिन जनश्रमदान गरेका थिए ।

चिसापानीका २०२ घरधुरीका एक हजार १५८ जनसङ्ख्या सो पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताए । गाउँभन्दा ६ किमी पर रिपसुंवारा मूलबाट पानी ल्याएर चार टयाङ्की र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो । स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ००:००