१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठबीसकोट नगरपालिकाः लक्षभन्दा बढी राजश्व सङ्कलन



जेठ १४, रुकुमपश्चिम । आठबीसकोट नगरपालिकाले आर्थिक वर्ष नसकिँदै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आव २०७५/७६ मा नगरपालिकाले एक करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर नगरपालिकाले १० महीनामै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।

वैशाख मसान्तसम्म एक करोड ५५ लाख २८ हजार ३८७ राजश्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । दश महीनामै लक्ष्यभन्दा पाँच लाख २८ हजार २८७ बढी राजश्व सङ्कलन भएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, कर सङ्कलन केन्द्र, नगर अस्पताल, नगर प्रहरी, नगरपालिकाका विभिन्न शाखा, नगर क्यान्टिन, घरजग्गा रजिष्ट्रेशन, पशु सेवा कार्यालय लगायत बाट उक्त राजश्व सङ्कलन भएको उनको भनाइ थियो ।

उनका अनुसार १४ वटा वडा कार्यालयबाट सङ्कलित ४२ लाख ३८ हजार ९५७, नगरपालिका कार्यालयबाट २७ लाख ९७ हजार ३८८, कर सङ्कलन केन्द्रबाट दुई लाख २३ हजार २१५, नगर अस्पतालबाट १८ लाख ३९ हजार ५४० र नगर प्रहरीबाट एक लाख ७७ हजार १०० राजश्व सङ्कलन भएको छ ।

त्यस्तै विभिन्न शाखाबाट २५ लाख ३२ हजार ७७०, नगर क्याण्टिनबाट १५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ३६ लाख ९८ हजार ७२५, पशुसेवा कार्यालयबाट पाँच हजार ६९२ राजश्व उठेको नगरप्रमुख केसीले जानकारी दिए ।

चालू आवमा लक्ष्यभन्दा करीब १५ लाखभन्दा बढी राजश्व उठ्ने देखिएको नगरपालिकाले जनाएको छ । पाँच लाखभन्दा बढी राजश्व उठिसकेको तथा जेठ र असार मसान्तमा करीब १० लाख राजश्व उठ्ने नगरप्रमुख केसीको अनुमान छ ।

जिल्लाका ६ वटा स्थानीय तहमध्येमा आठबीसकोट सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने स्थानीय तह हो । गत वर्ष पनि नगरपालिकाले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको थियो । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार ००:००