१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामग्राम स्तुपबाट दोस्रो चरणको ‘सडक प्रदर्शनी’ शुभारम्भ




जेठ १२, परासी । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो चरणको रोड शो (सडक प्रदर्शनी) आजदेखि शुरु भएको छ ।

बीस लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले गत जेठ ४ गते भ्रमण वर्षको औपचारिक घोषणा गरेको थियो । पश्चिम नवलपरासीस्थित भगवान गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपबाट आज बिहान दोस्रो चरणको सडक प्रदर्शनी शुभारम्भ गरिएको हो ।

सो अवसरमा प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यसअघि गरिएको पहिलो चरणको सडक प्रदर्शनीबाट राम्रो प्रभाव परेको बताउँदै भने, “यस किसिमको कार्यक्रमले देशभरि बुद्ध जन्मस्थल लुम्बिनी, अस्तुधातु रहेको रामग्राम लगायतका दशवटा स्थलको प्रचारप्रसार हुने विश्वास गरेका छौँ, यसबाट ओझेलमा रहेको रामग्रामको पनि प्रचारप्रसार हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ ।”

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले लुम्बिनी र रामग्रामको विकास सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । उनले नगरपालिकाको तर्फबाट रामग्राम र बुद्धको मावली पण्डितपुरको विकास र प्रर्वद्धनको लागि निरन्तर प्रयास भइरहेको जानकारी दिए ।

सडक प्रदर्शनी कार्यक्रममा रामग्रामलाई उच्च प्राथमिकता दिएर प्रचार गर्न पनि उनले भ्रमण टोलीलाई आग्रह गरे । लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न सिद्धार्थ होटल एशोसियशन (सान) को नेतृत्वमा पर्यटन व्यवसायी, पत्रकार, सम्बन्धित नगरपालिकाका प्रतिनिधि लगयत ३० सदस्यीय टोली आज परासीबाट पूर्वी नेपालको झापासम्मको यात्रामा निस्किएको हो । सडक प्रदर्शनीमा जाने टोलीलाई बाजागाजासहित स्थानीय जनप्रतिनिधि, व्यवसायी, पत्रकार तथा सर्वसाधरणले बिदाइ गरेका थिए ।

छ दिनसम्म चल्ने सडक प्रदर्शनी यात्राको क्रममा प्रदेश नं ३, २ र १ का भरतपुर, हेटौँडा, बर्दिबास, जनकपुर, लहान, इटहरी, धरान, भेडेटार, विराटनगर लगायतका प्रमुख शहरमा संक्षिप्त कोणसभा गरी भ्रमण वर्षका प्रचार सामग्री वितरण र लुम्बिनी र यससँग सम्बन्धित पर्यटकीयस्थलको भ्रमणमा आउन सम्बन्धित प्रदेशवासीलाई निम्तो दिइने सडक प्रदर्शनी कार्यदलका संयोजक रवीन शर्मा घिमिरेले जानकारी दिए ।

उनका अनुसार त्यसपछि तेस्रो चरणमा कपिलवस्तुबाट दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा कार्यक्रम हुनेछ । चौथोचरणमा भारतको कुशीनगर, बनारस र सारनाथमा सडक प्रदर्शन हुनेछ । पहिलो चरणको सडक प्रदर्शनी भैरहवाबाट वैशाख २२ गतेदेखि शुरु भई काठमाडौंमा पुगेर सम्पन्न भएको थियो ।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने नाराका साथ शुरु भएको भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, सुजाता खिर उत्सव, लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिकयात्रा र त्रिपिटिकवाचन, योग तथा ध्यान शिविर र स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) को व्यवस्था मुख्य आकर्षणको रूपमा रहेका छन् ।

रामग्राम नगरपालिकाले पनि ‘रामग्राम स्तूप जाऔँ, लुम्बिनी भ्रमण वर्ष सफल पारौँ’ भन्ने नारा तय गरी रामग्राम र पण्डितपुरको प्रवर्द्धन गरेको छ । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार ००:००