१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा ४६ हजार फलफूलका बिरुवा रोपिने



भरत केसी

जेठ ८, बुटवल । भैरहवा लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ । लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार पाँच सय बिरुवा रोप्ने सहमति भएको हो ।

उक्त वृक्षरोपणको यही जेठ ४ गते बुद्धजयन्तीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । सडक सुधारका क्रममा रुपन्देही जिल्लाभित्र एक हजार ९०८ वटा रुख काटिएको थियो । त्यसको २५ गुणा बढी बिरुवा रोप्नुपर्ने वन ऐनको प्रावधानअनुसार रुपन्देही जिल्लामा कूल ४७ हजार सात सय बिरुवा रोप्नुपर्ने छ ।

जसमध्ये सडक किनारमा एक हजार १८२ र बाँकी ४६ हजार ५१८ बिरुवा कोष परिसरभित्र रोपिने भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका आयोजना प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए ।

लुम्बिनी गुरुयोजना भित्रको वृक्षरोपणलाई वातावरणीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्वको संरक्षित क्षेत्रको रुपमा सो कार्यक्रमलाई लिइने कार्यविधिमा उल्लेख गरिएको छ । वृक्षरोपण कार्यक्रममा विशेष गरी फलफूलका बिरुवा रोपिने लुम्बिनी विकास कोषले जनाएको छ ।

आँप, लिची, कदम्ब, कल्की, अमला, सिमल, बरपिपल, बेल, इमली, बडहर, निम, जामुन, अमलतास, काभ्रो लगायतका बिरुवा रोपिने र यसबाट मानिस लगायत जङ्गली जीवजन्तु, चराचुरुङ्गी समेतले आहारा प्राप्त गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए ।

भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका निर्माण व्यवसायीको ठेक्कापट्टामा उल्लेख भएअनुसारको रकम उपयोग गरी रुपन्देही वन कार्यालयसँगको समन्वयमा कोषले वृक्षरोपण, स्याहार सम्भार र रेखदेख लगायतका काम गर्नेछ ।

वृक्षरोपणपछि हुर्किएका बिरुवालाई भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाको तर्फबाट रुपन्देही वन कार्यालयलाई हस्तान्तरण गरी आवश्यक प्रक्रिया पूरा गरी वन कार्यालयले कोषलाई हस्तान्तरण गर्ने डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत इन्द्रबहादुर पछाइले जानकारी दिए । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ००:००