१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने



हेमन्त केसी

जेठ ३, जाजरकोट । मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उनी बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । स्थानीयस्तरको समस्या, कार्यक्रम र गतिविधिका समाचार लेखेर पठाउने माध्यम नहुँदा शाहीलाई काम गर्ने इच्छाशक्ति पनि मर्दै गएको छ ।

फोन गर्नका लागि र इमेल गरेर समाचार पठाउन चार घण्टा उकालो हिँडेर नर्कुको अग्लो डाँडामा पुग्नुपर्ने भएकाले आफूलाई यो काम फलामको चिउरा चपाए झैँ भएको पत्रकार शाहीको गुनासो छ । अर्का पत्रकार सरोज थापाको पनि उस्तै गुनासो छ । सञ्चार र प्रविधिको युगमा पनि गाउँघरका समाचार पनि लेखेर पठाउन कठीन भएको उनको भनाइ छ । तत्कालै प्रयोग गर्नुपर्ने कतिपय समाचार पनि सञ्चार माध्यमको पहुँच नहुँदा बासी भएपछि तिनको महत्व नरहने उनी गुनासो गर्छन् ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकाका विभिन्न वडामा फोनले काम नगर्दा यहाँका हजारौँ बासिन्दाले सास्ती भोग्दै आएका छन् । आफन्तसँग फोन गर्नका लागि अग्ला पहाडका नेटवर्कको खोजी गर्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको जगदुला गाउँपालिका–६ का करवीर रोकाय बताए । एक गाउँबाट अर्को गाउँमा खबर पठाउन र पाउन पनि दुई दिनसम्म लाग्ने गरेको उनको भनाइ छ ।

स्थानीय तहका कर्मचारीलाई कुनै कार्यक्रम गर्नका लागि खबर पठाउन हिँडेरै जानुपर्दा हैरान भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताउछन् । उनी भन्छन्, “टावर निर्माणका लागि ल्याइएका सामग्रीहरु रुकुमको त्रिवेणीमा एक वर्षदेखि थन्किएका छन्, टेलिकमका कर्मचारी नआउँदा टावर जडान गर्न सकिएको छैन ।” मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा पनि फोनले काम नगर्दा सरकारी काम गर्न सदरमुकाम दुनै जानु परेको शाहीको भनाइ छ ।

इलमा रहेको वाणिज्य बैंकको सेवा प्रवाहमा समेत समस्या देखिँदै आएको छ । टेलिफोन टावर निर्माणका लागि ठाउँठाउँमा निवेदन गरिए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष शाही बताउछन् । यहाँका गाउँमा रेडियो तथा टिभी कुनै पनि सञ्चारका सेवा उपलब्ध नहुँदा देश तथा बिदेशका खबर महीना दिनपछि मात्र थाहा हुने गरेको छ ।

उपल्लो डोल्पामा कुनै सामान्य घटनाको खबर पनि सदरमुकाम पुर्याउन पाँच दिनभन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टको भनाइ छ । माथिल्लो डोल्पाका अधिकांश ठाउँमा टेलिफोन सम्पर्क नहुँदा दैनिक सूचना आदानप्रदानमा समस्या पैदा भएको उनी बताउछन् ।

अग्ला हिमाल, त्यसको फेदीमा गाउँहरु भएको उपल्लो डोल्पामा सेवा दिनका लागि कर्मचारी जान–आउनसमेत मुस्किल भएको प्रजिअ मुकेशकुमार केसरी उल्लेख गरे । वर्षौंदेखि जिल्लाका ७० प्रतिशत स्थानमा फोनले काम नगर्दा दैनिक सूचना आदान–प्रदानमा समस्या भोग्दै आउनुपरेको उनले उल्लेख गरे । सञ्चारमाध्यमको सुविधा नहुँदा त्यहाँका स्थानीय तहका कतिपय कार्यालयसमेत सदरमुकाम दुनैमा मात्र सञ्चालन भइरहेको पाइएको छ ।

बैंकहरु समेत सदरमुकामबाहेह अन्यत्र स्थापना हुन सकेका छैनन । टावर निर्माणका लागि ठेक्का लिएर निर्माण व्यवसायीले समयमै काम नगर्दा टेलिफोन टावर विस्तारमा समस्या भएको पूर्वमन्त्री तथा सांसद सत्य पहाडी बताउछन् ।

नयाँ टावर निर्माणका लागि काम जारी रहेको र आउँदो आर्थिक वर्षभित्र केही नयाँ टावर पनि बनिसक्ने उनको भनाइ छ । भूबनोटका कारण सञ्चारका साधनको प्रयोग जटिल हुनाका साथै ढुवानी गर्नसमेत मुस्किल भएकाले केही ढिला हुन गएको सांसद पहाडी बताउछन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ००:००