१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडीकेदार गाउँपालिकाः एकीकृत घुम्ती शिविरमा ५०० लाई नागरिकता



जेठ ३, डोटी । बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता परिचयपत्रसमेत लिएका छन् । जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसलाई गाउँमै गएर नागरिकता वितरण, मतदाता परिचयपत्र लगायतका सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

उनले भने, “जनताले पाउनुपर्ने सार्वजनिक सेवा जनताको घरदैलोमै पुगेर प्रदान गर्ने अभियान र सुशासन ऐनको मर्मअनुसार घुम्ती शिविर सञ्चालन गरी सदरमुकाम आउन नसक्नेलाई नागरिकता वितरण गरेका छौँ ।” डोटीको सन्दर्भमा अत्यावश्यक अवस्थामा नागरिकता बनाउनेबाहेक तत्कालै आवश्यक नभएमा नागरिकता नबनाउनेको सङ्ख्या बढी भएको पाइएको र जिल्लामा सञ्चालन गरेका घुम्ती शिविरमा बढी सङ्ख्यामा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै उक्त शिविरमा ९६ वर्षीया भागरथीदेवी थापाले पनि नागरिकता पाएकी छन् । नागरिकता पाएपछि भागरथीदेवी निकै खुशी भएकी छन् । जिल्ला सदरमुकाम टाढा भएको र नागरिकता लिन नसकेकाले घरैमा शिविर सञ्चालन हुँदा नगरिकता लिन आएको उनले बताइन् । उनले भनिन्, “जिल्ला प्रशासन टाढा छ, नागरिकता नहुँदा भत्तासमेत पाएकी थिइनँ, गाउँमै नागरिकता पाएँ अब भत्ता पनि पाउने छु ।” नागरिकता नभएका कारण उनले हालसम्म मतदानसमेत गर्न पाएकी थिइनन् ।

यसअघि डोटीको बोगटानफुड्सिल गाउँपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा पनि शिविर सञ्चालन भइसकेको र बाँकी अन्य स्थानीय तहसँग पनि समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गरी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने, “हामीले केही स्थानीय तहमा शिविर सञ्चालन गरी नागरिकता लगायतका सेवा प्रदान गरिसकेका छौँ, बाँकी रहेका स्थानीय तहमा क्रमिकरूपमा शिविर सञ्चालन हुनेछन् ।” रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ००:००