१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण शुरु



वैशाख ३०, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य शुरु भएको छ ।

नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै दश करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य शुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले बताए ।

अहिले पहिलो चरणमा गाईघाटस्थित त्रियुगा नदीको आर्यघाट क्षेत्रबाट पुरानो गाईघाटको बोटेटोलसम्मको २०० मिटर बाँध निर्माणको लागि उपभोक्ता समिति गठन गरेर बाँध निर्माण कार्य शुरु भएको अध्यक्ष राईको भनाइ छ ।

चौडाइ १९ मिटर र उचाइ तीन मिटरको उक्त बाँधमा पाँच मिटरको करिडोर सडकसहितको बाँध निर्माण कार्य शुरु गरिएको आर्यघाट बोटेटोल बाँध निर्माण उपभोक्ता समितिका सचिव लव ढकाल बताउछन् । यस्तै बोटेटोलबाट तल्लो आर्यघाट हुँदै विषणपुरसम्मको तटबन्ध निर्माण गर्न अन्य उपभोक्ता समितिसमेत गठन गर्न लागिएको त्रियुगा नगरपालिकाले बताएको छ ।

दुई किलोमिटर बाँध निर्माण भएपछि गाईघाटको बसपार्कदेखि दुर्गाटोल, प्रतिभा टोल साधना टोल, बोटेटोल, बगरटोल, त्रिवेणी टोल र विषणपुर क्षेत्रका झण्डै तीन हजार जनता बसोबास गरेको क्षेत्र त्रियुगा नदीको कटानबाट सुरक्षित हुने भएको पनि त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ ।

वर्षेनी त्रियुगा नदीले यस क्षेत्रमा कटान गर्दै लगेपछि दश वर्षभित्रमात्र झण्डै २०० बिघा जग्गा कटान गरिसकेको छ भने सयौँ घर परिवारसमेत विस्थापित भइसकेका छन् । रासस

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ००:००