१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विरेठाँटी–हिडनलेक पदमार्ग सञ्चालनमा



हरि बाँस्तोला

वैशाख २७, पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल विरेठाँटीदेखि हिडनलेकसम्म वैकल्पिक पदमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ ।

ग्रामीण क्षेत्रमा विनायोजना खनिएका मोटरबाटोका कारण दिनप्रतिदिन सङ्कटमा पर्दै गएको पदमार्गको इतिहासलाई जीवित राख्ने ध्येयका साथ वैकल्पिक पदयात्रामार्ग निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सक्रियतामा अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारेर चार वर्षअघि सो पदमार्गको निर्माणकार्य शुरु गरिएको हो । प्राकृतिक छटाले भरिपूर्ण विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडनलेकसम्मको पदयात्रामार्ग हालै सञ्चालनमा आएको (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ र सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई थप टेवा पु¥याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको लगभग ३५ किलोमिटर लम्बाइको सो पदयात्रामार्ग सात दिनको छ ।

प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ पैदलयात्राको मुख्य मार्ग रहेको उक्त बाटो यातायातको सुविधासँगै ओझेलमा परेको बताउँदै अध्यक्ष भुजेलले यस किसिमका ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यको संरक्षणसँगै उजागर गर्न सके पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुग्ने बताए ।

पदयात्राको पहिलो दिन चिमरुङ तमु वा मोहोरिया बास बस्न सकिन्छ भने दोस्रो दिन थमडाँडा पुग्न सकिन्छ । तेस्रो दिन टाडापानी, चौथो दिन दोबाटो र पाँचौँ दिन फोर्ते बास बसेपछि त्यहाँबाट दुई घण्टामा हिडनलेक पुगिने थमडाँडा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

हिडनलेकबाट फर्कनेक्रममा छोमरुङ हुँदै पर्यटक छैटौँ दिन रमणीय पर्यटकीय गाउँ घान्द्रुक बास बस्न आइपुग्ने वा सोही दिन पोखरा पुग्न सकिने बताउँदै उनले भने, “पदयात्रामार्गको मोहोरियामा बाइसेचौबीसे राजाको पालाका पोडे राजाको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको दरबारको भग्नावशेष देख्न सकिन्छ ।

सो स्थानमा अहिले पनि ठूलो ढुङ्गामा रहेको धान कुट्ने ओखल देख्न सकिने जानकारी दिँदै उनले प्राचीनकालमा रहेका तर हराएका ढिकीजाँतो लगायतका विभिन्न सामग्रीको खोजी भइरहेको बताए । पदमार्गअन्तर्गत तीन हजार १०० मिटरको उचाइ मेश्रम बराह मन्दिरसँगै जङ्गलको बीच भागमा मेश्रोम ताल छ जसको पानीमा झरेका रुखका पातसमेत चराले टिपेर लैजाने गरेको जनयुक्ति छ ।

लगभग ३० वर्गमिटरमा पैmलिएको पानीको स्थायी स्रोतसमेत नभएको सो तालमा पानी कहिल्यै नसुक्ने सधैँ सफा देखिन्छ । यहाँबाट अन्नपूर्ण र धवलागिरिको मनोरम हिमशृङ्खला तथा सूर्योदयको दृश्यावलोकनसँगै प्राकृतिक सौन्दर्यसहित पोखरा बजार, फेवातालसमेत स्पष्ट देख्न सकिन्छ ।

पदमार्ग निर्माणमा हालसम्म कूल सात लाख खर्च भइसकेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए । पदयात्रामार्ग निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाबाट दुई पटक गरेर पाँच लाख, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घबाट दुई लाख सहयोग भएको थियो । त्यस्तै अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) बाट ७५ हजार प्राप्त भएको जानकारी दिँदै उनले भने, “पदमार्गअन्तर्गत अप्ठ्यारो स्थानमा ३०० मिटर काठको सिँढी र ४०० मिटरमा ढुङ्गाको सिँढी निर्माण गरी पदयात्रीलाई सुविधा पुगेको छ ।

अधिकांश पदयात्रामार्ग जङ्गलमा पर्ने भएकाले बाटामा घोरल, मृग, थार, बाघ, भालुजस्ता जङ्गली जनावरसहित डाँफे, मुनाल लगायतका विभिन्न चराचुरुङ्गी देख्न सकिने उनले बताए । पदमार्गको तल्लो भागमा खानेपानीको सुविधा पुगेपनि उपल्लो भागमा भने व्यवस्थापन गरिनुपर्ने बताउँदै उनले मोहोरियासम्म राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सुविधा पुगे पनि त्यसभन्दा माथि सोलार प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिए । उक्त पदयात्रा मार्गमा अहिले पनि दैनिक तीनदेखि चार टोली पदयात्रामा आउने गरेको ट्रेकिङ गाइडसमेत रहेका ढुङ्गानाको भनाइ छ ।

थमडाँडामा सामुदायिक होमस्टे (घरबास) निर्माण हुँदै

समुद्री सतहबाट लगभग एक हजार ५० देखि चार हजार ५०० सम्मको उचाइमा रहेको विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडनलेकसम्म पदयात्रामार्गको अन्तिम बासस्थान थमडाँडामा सामुदायिक होमस्टे कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारको १० लाख र गाउँपालिकाबाट एक लाख आर्थिक सहयोगबाट स्थानीय १३ युवाको सक्रियतामा २० जना क्षमताको १० ट्रष्ट भवन निर्माण गर्ने लक्ष्य रहेको होमस्टे व्यवस्थापन समितिका कोषाध्यक्ष सङ्गीता गुरुङले जानकारी दिए । होमस्टे निर्माणसँगै व्यवस्थित सञ्चालन गर्न पोखरामा दुई दशक कुक, वेटर र रुमब्वाइको अनुभव सङ्गालेका अतित गुरुङ, दिनेश गुरुङ, प्रदीप ढुङगाना, प्रदीप गुरुङ, शुक्रराज चपाईं लगायतका युवा यतिखेर क्रियाशील रहेको समितिका उपाध्यक्ष जगतबहादुर गुरुङ बताउछन् ।

पदमार्गमा सुरक्षाको प्रत्याभूति

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पदयात्रा मार्गमा रमणीय दृश्यावलोकनसहित पदयात्रा गर्न पाउनु पर्यटकका लागि महत्वपूर्ण पक्ष भएको बताए । पदयात्राको व्यवस्थापनका साथै पर्यटकलाई आवश्यक सुविधासहित सुरक्षाको प्रत्याभूति प्रदान गर्न गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पदमार्गसँगै पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको बताए ।

होमस्टे सञ्चालन र व्यवस्थापनसहित स्थानीयवासीलाई गाउँपालिकाले आवश्यक तालीमको समेत व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । नेपाल आउने पर्यटकमध्ये लगभग ७० प्रतिशत पदयात्रा पर्यटनले ओगटेको इतिहास जीवित राख्नुपर्ने विषय यतिखेर चासो र चर्चामा रहेको छ ।

यसअघि २१ दिन लाग्ने अन्नपूर्ण चक्रीय पदमार्ग जथाभावी मोटरबाटो खन्ने नाममा सात दिनमा खुम्चिएको वास्तविकतामा वैकल्पिक पदयात्रामार्गको खोजी र विकासमा बढ्दै गएको जागरुकतालाई अत्यन्त महत्वका साथ हेरिएको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ००:००