१३ मंसिर २०८२, शुक्रबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ः प्रदेशसभाको खर्च ११ करोड



वैशाख २३, रुपन्देही । प्रदेश ५ प्रदेशसभाले डेढ वर्षको अवधिमा ११ करोड दुई लाख खर्च गरेको छ । प्रदेशको तेस्रो अधिवेशन सकिँदासम्म चालूतर्फ नौ करोड ८८ लाख १५ हजार तथा पूँजीगततर्फ एक करोड १३ लाख ७६ हजार खर्च भएको संसद् सचिवालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रदेशसभाका सभामुख र उपसभामुखको पारिश्रमिक खर्च २५ लाख ५६ हजार तथा संसदीय दलका कर्मचारी तथा प्रदेशसभाका सदस्यको पारिश्रमिकका लागि १९ लाख ६३ हजार खर्च भएको संसद सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यस्तै विषयगत समितिको कार्यालय व्यवस्थापनमा २७ लाख ५१ हजार, अन्य नयाँ कार्यालयका लागि पाँच लाख ९२ हजार र पुस्तकालय तथा संवाद केन्द्र व्यवस्थापनका लागि चार लाख ९१ हजार खर्च भएको छ ।

पत्रकार सम्मेलनमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको तेस्रो अधिवेशन सकिँदासम्म ४० विधेयक दर्ता भएकामा ३८ विधेयक पास भएको बताए । उनले भने, “अब साझा सूचीका कानून मात्रै बन्न बाँकी छन्, सङ्घीय संसद्ले बनाएपछि ती कानून पनि बन्छन् ।” एक वर्षको अवधिमा प्रदेशको राम्रो आधार तयार भएको सभामुखको भनाइ थियो ।

उपसभामुख कृष्णी थारुले प्रदेश पहिलो वर्ष सिकाइका क्रममा भए पनि राम्रा काम भएको बताइन् । प्रदेशसभाले गत वर्ष माघ २१ गतेदेखि पहिलो अधिवेशन शुरु गरेको थियो भने वैशाख २२ गते तेस्रो अधिवेशन सम्पन्न भएको छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ००:००