८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने



राजकुमार पराजुली

वैशाख २३, काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै आएका थिए ।

गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, मानाङ्क, घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष्ण धिमालले जानकारी दिए । उनका अनुसार पाँचखालमा तत्कालीन राजा मानदेव र अंशुवर्माको दरबार तथा रानीपोखरी लगायतका संरचना थिए । “बूढापाकाले पाँचखाल ऐतिहासिक स्थान भन्नु र खेतबारी खनजोत गर्दा पुराना सामग्री भेटिनुले यहाँको सम्पदा जोगाउन पुरातत्व विभागसँग आग्रह गरेका हौँ ।”

पुरातत्व विभागका उत्खनन शाखा प्रमुख रामबहादुर कुँवरले यही महीनाबाट पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन शुरु गरिने बताए । उनले भने, “प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री भेटिएका छन्, जो लिच्छवीकालीन नै हुन्, स्थानीयको माग तथा विज्ञको सुझावअनुसार हामी यही महिनाबाट थप अध्ययन एवं उत्खनन कार्य सुरु गर्नेछौँ ।” उनका अनुसार उक्त स्थानमा थप अध्ययन एवं उत्खनन गर्ने विज्ञ टोली तथा कागजात व्यवस्थापन गरिँदैछ ।

विभागले गत चैत अन्तिम साता उत्खनन विज्ञ उद्धव आचार्यसहितको एक टोलीले पाँचखालमा भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो । आचार्यले भने, “जति ऐतिहासिक प्रमाण भेटिएका छन्, ती लिच्छवीकालीन हुन्, हामीले विभागलाई पाँचखालका सम्पदा थप अध्ययन एवं उत्खनन गर्न सुझाव दिएका छौँ ।” उनका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।

पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा थिए र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको भन्ने कुरा बूढापाकाले गर्दै आएको स्थानीय सूर्यप्रसाद भेटवालले बताए । उनले हाल खेतका गरा खन्ने क्रममा २६ इञ्चको पूरानो गारो समेत भेटिएको जानकारी दिए ।

भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । भोगिनी पाली भाषा रहेको विज्ञ आचार्यले बताए । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले खेतीपाती गर्दै आएका छन् । स्थानीयले पाँचखाल क्षेत्रमा ऐतिहासिक सम्पदा सुरक्षाको ध्यानाकर्षण गराउन नगरपालिका प्रमुख महेश खरेललाई भेटिएको सिक्का तथा सामग्री हस्तान्तरण गरेका छन् । खरेलले सरोकारवाला निकायसँग समन्वय गरी सम्पदा संरक्षणमा लाग्ने बताए ।

दुर्घटनामा एकको मृत्यु

तेमाल गाउँपालिका ५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल गाउँपालिका–२ सस्र्यूखर्कका २० वर्षीय सुनिल लामाको मृत्यु भएको हो । घाइते लामालाई उपचारार्थ धुलिखेल अस्पताल पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रासस

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ००:००