२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्को शुल्क लिँदै बझाङका सामुदायिक विद्यालय



ललित सिंह

वैशाख २०, बझाङ । नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्थी बाट चर्को शुल्क लिने गरेका छन् ।

पटक पटक जिल्लाका सामुदायिक विद्यालयले चर्को शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन । यस वर्षको शैक्षिक शत्र शुरु भएसँगै यहाँका विद्यालयले विविध समस्या देखाउँदै विद्यार्थीबाट अनावश्यक रुपमा गैरकानूनी ढङ्गले भर्ना शुल्क असुल्ने गरेको पाइएको हो ।

कक्षा १ देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले अहिले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क, परीक्षा शुल्क, अनुपस्थित शुल्क, खेलकूद शुल्क जस्ता बहाना गर्दै शुल्क असुल्दै आएका छन् । तल्कोट गाउँपालिका–१ सुनिकोट घर भएका मिलन ऐडी कक्षा ७ मा पढ्ने भाइ अशोक ऐडीको स्थानीय सुनिकोट मावि सुनिकोटमा भर्ना गर्न जाँदा विद्यालयले ३४० शुल्क लिएको गुनासो गरेका छन् ।

उनी जस्तै सुनिकोटका अन्य अभिभावकले पनि आफ्ना बालबालिकाको भर्ना गर्दा रकम तिर्नु परेको दुखेसो राखे । सुनिकोट जस्तै जिल्लाकै नमूना मानिएको सदरमुकाम चैनपुर नजिकै रहेको सत्यवादी मावि भोपुरले समेत भर्ना शुल्क लिएको अभिभावकले गुनासो गरेका छन् ।

आफूले सदरमुकाम चैनपुर नजिकै रहेको सत्यादी माविमा कक्षा ७ मा २ छोरीको भर्ना गर्दा ९५० रुपैयाँ र कक्षा १० मा पढ्ने छोराको भर्ना शुल्क ५५० तिरेको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की महिला सदस्य पद्मादेवि सार्कीले बताइन् । ‘‘हामी दलितका बालबालिकालाई त झन निःशुल्क हुन्छ भन्ने थाहा थियो’’ उनले भनिन्, ‘‘पैशा नदिएसम्म शिक्षकहरुले छोरा छोरीको भर्ना नगरदिएपछि आफूले बाध्य भएर भर्ना शुल्क तिर्नु प¥यो ।’’

सत्यवादी मावि भोपुरका प्रधानाध्यापक रामदत्त उपाध्यायले विद्यालयको शैक्षिक सुधारका लागि केही शिक्षक निजी स्रोतबाट राखेको हुँदा विद्यार्र्थीबाट सहयोगस्वरुप भर्ना शुल्क लिएको बताए । सत्यवादीमा कक्षा ७ मा भर्ना भएकी विमला वादीले ४५० भर्ना शुल्क तिरेको बताइन् ।

यस्तै सदरमुकाम चैनपुर नजिकै रहेको जालपा माविले समेत भर्ना शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका रमेश धामीले बताए । उनले भने, ‘‘छोरा कक्षा ९ मा अध्यनरत छ । उसको ३२५ र छोरीको कक्षा ७ मा भर्ना गर्दा ३०० तिरेको छु ।’ विद्यालय व्यवस्थापन समितिसँग कुनै सल्लाह जानकारीबिना नै शिक्षकले मनोमानी भर्ना शुल्क लिने गरेको उनको आरोप छ ।

उक्त विद्यालयले कक्षा ६, ७ र ८ को ३०० र कक्षा ९ को ३२५ र १० कक्षामा भर्ना हुने विद्यार्र्थीबाट ३५० भर्ना शुल्क तोकेको बताए । सरकारी नीतिअनुसार निःशुल्क शिक्षा केवल काजमै सीमित भएको र सामुदायिक विद्यालयले नै सरकारी नीतिको खिल्ली उडाएको उनले बताए ।

यता जयपृथ्वी नगरपालिका शिक्षा संयोजक तथा स्रोतव्यक्ति खगेन्द्रप्रसाद जोशीले भने बझाङ जिल्लाका सामुदायिक विद्यालयले नियम विपरीत शुल्क असुल्ने गरेको स्वीकार गर्दै धेरै जस्तो विद्यालयमा निजी क्षेत्रबाट नै शिक्षक राख्ने गरेको उनीहरुलाई तलब खुवाउनका लागि भन्दै भर्ना शुल्क लिने गरेको बताए ।

प्रमख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयले भर्ना शुल्क लिएको भन्ने जानकारीमा आएको र यस विषयमा जिल्ला शिक्षा समन्वय एकाइसँग बुझेर जानकारी लिने बताए । उनले भने, ‘‘यदि भर्ना शुल्क लिएको फेला परे नियमअनुसार कारवाही हुनेछ ।’’ रासस

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ००:००