१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस बर्ष चितवनमा वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु



बैशाख १७, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।

घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो । तीमध्ये १० मध्यवर्ती क्षेत्रमा र दुई निकुञ्ज क्षेत्रमा भएका घटना हुन् । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिइँदैन ।

निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए । सरकारले निकुञ्ज बाहिर वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ । त्यसैगरी बालीनाली क्षति भएमा अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

घिमिरेका अनुसार विगत वर्षको समेत गरी चालू आर्थिक वर्षमा रु एक करोड २८ लाख क्षतिपूर्ति रकम वितरण गरिसकिएको छ । मृत्यु भएकाको एक महीनाभित्रमा क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । विगतका वर्षमा क्षतिपूर्ति पाउन छ महीनाभन्दा बढी समय लाग्ने गर्दथ्यो ।

मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल जाने गर्दछन् भने नदीमा माछा मार्न जाने गर्दछन् । सोही क्रममा एक्कासी जम्काभेट हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । वन्यजन्तु निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने क्रम बढ्नु र स्थानीय पनि जङ्गल जाने क्रम बढ्नुले आक्रमणको घटना बढी भएको घिमिरेले बताए ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको हो । टिपरले मोटरसाइकललाई मङ्गलबार बिहान ८ः२० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते अधिकारीको उपचारका क्रममा गए राति २ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

यसैबीच मोटरसाइकलमा सवार अधिकारीकी श्रीमती ४५ वर्षीया कमला अधिकारी घाइते हुनुभएको थियो । घाइते अधिकारीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छ ।
–––

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ००:००