१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ वर्षभित्र गुणस्तरीय शिक्षाः मन्त्री बाँस्कोटा



बैशाख १४, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरेका छन् ।

चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडाको सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले ३ वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने दाबी गरे ।

एशियाली विकास बैंक (एडीबी) को ६ करोड रुपैयाँ ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा उक्त भवन निर्माण भएको हो ।

बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताए । उनले भने, “मुलुकको सबै स्रोतसाधान उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ । यसप्रति सरकारले बिषेश कदम चाल्नेछ,” बाँस्कोटाले भने, “शिक्षालाई अर्थतन्त्रसँग जोड्न र आत्मनिर्भरतालाई प्रोत्साहित गर्न सरकार लागिपरेको छ ।”

सांसद गङ्गाबहादुर तामाङले मुलुक निर्माणको चरणमा रहेकाले जनतासँगका प्रतिबद्धता पूरा गर्ने बताए । प्रदेशसभा सदस्य रत्न ढकालले शिक्षा उत्पादन र समृद्धिउन्मुख हुनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष दीननाथ गौतम र विद्यार्थी नेता दीपक गौतमले संविधानमा सुनिश्चित गरिएको मौलिक हकका अधिकारबाट कोही पनि बञ्चित नभएको बताए ।

बाँस्कोटाले शुक्रबार नै स्वीटजरल्याण्डस्थित तेर दे जोम (टीडीएच) नामक गैरसरकारी संस्थाको करीब ७ करोड रुपैयाँको सहयोग तथा किर्डाक संस्थाको समन्वयममा भुम्लु गाउँपालिकाको सल्लेभुम्लु, फलाँटे र भुम्लुटारमा निर्मित तीन स्वास्थ्यचौकी भवनको उद्घाटन गरे । रासस

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ००:००