२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशः ३० अर्बको बजेट ल्याउने तयारी



वैशाख १३, सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ का लागि ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।

बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट ल्याउने बताए ।

सङ्घीय सरकारले आगामी आवका लागि बजेट ‘सिलिङ’ पठाइसकेको छ । वित्तीय समानीकरणमा नौ अर्ब ८४ करोड ८३ लाख र राजश्व बाँडफाँटमा सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ । मन्त्री ज्वालाले चालू आवमा खर्च हुन नसकेको साढे तीन अर्ब यही बजेटमा समावेश गरेर ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

चालू आवमा प्रदेश सरकारले २८ अर्ब २८ करोडको बजेट ल्याएको थियो । पूर्वाधार, कानूनी संरचना र कर्मचारी अभावका कारण चालू आवमा बजेट कार्यान्वयन हुन नसकेकाले आगामी वर्ष यी समस्या नदोहोरिने उनले प्रस्ट पारे । रासस

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ००:००