३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै सडकमा तीन सरकारको लगानी



वैशाख १०, दमौली । एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् ।

दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले दुई करोड, सङ्घीय र प्रदेश सरकारले एक एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरु भएको छ ।

उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए ।

दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा सङ्घीय सरकारले विनियोजन गरेको एक करोडबाट पक्की नाला निर्माण र करीब ८०० मिटर सडक कालोपत्रे शुरु भएको पण्डितले बताए ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको एक करोडबाट छाब्दीबाट दमौलीतर्फ आउने त्यति नै दूरी सडकमा पक्की नाला निर्माणसहित सडक चौडा र कालोपत्रेको काम शुरु गर्ने तयारी गरिएको छ ।

यसैगरी ब्यास नगरपालिकाले विनियोजन गरेको दुई करोड बजेटबाट भड्खलादेखि गौंडाको पहराको पूर्वतर्फको उकालोसम्मको सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । बस नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटै आयोजनालाई तीन सरकारले बाँडेर आ–आफ्नो तरिकाले काम गर्ने र त्यहाँका जनतालाई सबैले यो योजना हाम्रो हो भन्ने जटिल अवस्था सिर्जना भएको बताए ।

सङ्घ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले छाब्दीमार्गलाई उच्च प्राथमिकतामा राखेर वर्षा शुरु हुनु अगाडि नै कालोपत्रे सकिने गरी काम गरिने बताए ।

उक्त सडक कालोपत्रे नहुँदा वर्षायामको समयमा हिलो र हिउँदमा धुलोले सर्वसाधारण मर्कामा पर्दै आएका थिए । स्थानीयवासीले छाब्दी मार्ग कालोपत्रेका लागि जनप्रतिनिधिलाई पटक÷पटक दबाब दिँदै आएका थिए । रासस

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार ००:००