१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदी गाउँपालिकाको आफ्नै पक्की भवन निर्माण शुरु



वैशाख १०, पर्वत । लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको मोदी गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । गाउँपालिका २ देउपुरमा गाउँलेको सहयोगमा खरीद गरिएको जग्गामा भवन निर्माण शुरु गरिएको हो । आठकोठे उक्त भवनको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरे ।

७२ लाखको लागत अनुमानमा भवन निर्माणकार्य शुरु भएको हो । गाउँपालिकाको व्यवस्थित भवन निर्माण पछि गरिने भए पनि अहिले तत्कालका लागि थोरै लागत खर्चमा सानो भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । उनले गत आर्थिक वर्षमा विनियोजित चालू खर्चबाट बचेको ६२ लाख र थप स्रोत १० लाख गरी भवन निर्माण थालिएको बताए । गत वर्षको अनुगमन, बैठक भत्ता, अन्य खर्चलगायतबाट उक्त रकम गाउँपालिकाले जम्मा गरेको थियो ।

भवन शिलान्यास कार्यक्रममा मन्त्री लम्सालले गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा एउटै मोडेलका भवन निर्माण गर्नका लागि प्रदेश सरकारले आवश्यक तयारी गरेको बताए । उनले जबसम्म सुविधासम्पन्न कार्यालय निर्माण हुन सक्दैन तबसम्म अन्य काम पनि गर्न नसकिने बताउँदै पहिलो चरणमा ५८ गाउँपालिका र दोस्रो चरणमा नगरपालिकाका र महानगरपालिका कार्यालय व्यवस्थित गर्नका लागि सरकारले योजना बनाएको जानकारी दिए । उनले आगामी वर्षदेखि सबै स्थानीय तहमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिने बताए । उनले गण्डकी प्रदेशलाई मुलुककै नमूना प्रदेशको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

भाडाको साँघुरो भवनमा सञ्चालन गरेको एउटा कार्यालयमा सबै शाखा सञ्चालन गर्न समस्या भएको छ । सेवाग्राहीलाई एउटै सेवा लिनका लागि विभिन्न घरमा रहेका शाखामा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै अहिलेका लागि आठ र अर्को वर्ष थप आठ गरी १६ कोठाको भवन निर्माण गर्न थालिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

भवन निर्माणका लागि सरकारी जग्गा नभएपछि गत वर्ष स्थानीयवासीले रकम सङ्कलन गरी जग्गा खरीद गरिदिएका थिए । झण्डै एक करोड सङ्कलन गरेर जग्गा व्यवस्थापन गरिएको थियो । उक्त कार्यालय निर्माण भएपछि गाउँपालिकाका सबै शाखा एउटै भवनबाट सञ्चालन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । रासस

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार ००:००