११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण



वैशाख ९,दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका छन् ।

नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराएका हुन् । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गरेको सोही वडाका अध्यक्ष शतिश न्यौपानेले जानकारी दिए ।

न्यौपानेले कुमालको कक्षा १२ सम्मको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, “म नगर प्रमुखको पदमा बहाल नरहेपनि कक्षा १२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु ।” आमाले घर छाडेर बुबाले अर्को विवाह गरेपछि कुमाल हजुरबुबा र हजुरआमा संग बस्दै आएकी छन् ।

व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले वैशाख २ गतदेखि शुरु भएको भर्ना अभियानमा सघाउँदै अभिभावकत्व ग्रहण गर्न सबैलाई आग्रह गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारालाई मूर्त रुप दिन सामाजिक अभियान्ता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, इच्छुक व्यक्ति वा सङ्घसंस्थालाई भर्ना अभियानमा सहभागी हुँदै आवश्यकता अनुसार अभिभावकत्व ग्रहण गर्न नगरपालिकाले आग्रह गरेको हो ।

नगरभित्रका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय ल्याई सिकाउन, टिकाउन र अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिस्पर्धी बन्न सक्ने बनाउन गुणस्तरीय शिक्षाको आवश्यकता पर्ने भएकाले भर्ना अभियानमा सबै लाग्नुपर्ने शाखाका प्रमुख उपसचिव अम्बिकाप्रसाद आचार्यले बताए ।

साथै नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै वैशाख २ देखि १५ गतेसम्म सहज भर्ना अभियानअन्तर्गत बालबालिकालाई मुस्कान, अविर, पाठ्यपुस्तकसहित विद्यालयमा स्वागत गरी निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्न निर्देशन दिएको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार ००:००