४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप



शर्मिला पाठक

वैशाख ८, काठमाडौं । काठमाडौं भ्यू टावर निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।

निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ ।

निर्माणको कामअन्तर्गत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख ध्रुव काफ्ले बताउछन् । उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो ।

भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ । प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी) मोडलबाट निर्माण यस भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको थियो ।

“नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ”, कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख काफ्लेले भने । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम शुरु गरेको हो । शुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिएपनि पछिल्लो समय तीव्र रुपमा काम भइरहेको र यसरी नै काम हुने भए थप गरिएको समयका काम सकिनेमा कामपाले विश्वास लिएको छ ।

सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । अहिलेभने काम भइरहेको छ । निर्माण कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ । उक्त कम्पनीले वार्षिक ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ ।

गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । स्तम्भ निर्माणको लागत तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ ।

कुल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ । कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ ।

तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । बस बिसौनी जस्तो फराकिलो नभएको हुँदा मानिस खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन् । आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवत जावत गर्नेछन् । रासस

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार ००:००