चैत ५, बैशाख । नयाँ वर्षको शुरुआतसँगै स्थानीय तहका जनप्रतिनिधिले यही वर्षभित्र आफ्नो क्षेत्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बुधबार धुलिखेलमा आयोजित कार्यक्रममा उनीहरूले प्रतिबद्धता जनाएका हुन् ।
नेपाल वर्ष–२०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण कार्यक्रममा उहीहरूले साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले केही महीनाभित्रै घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले भने, “हामी अब एक÷दुई महीनामा साक्षर गाउँपालिका घोषणा गर्ने तयारी गर्दैछौँ ।”
जिल्ला शिक्षा विकास तथा समन्वय केन्द्रले गत वर्ष कात्तिकमा काभे्रपलाञ्चोक साक्षर जिल्ला घोषणा तयारी गर्ने कार्यक्रम तय गरेको थियो । तर कुनै पनि स्थानीय तहले साक्षर पालिका घोषणा नगर्दा साक्षर जिल्ला घोषणा कार्यक्रम निर्णयमा मात्रै सीमित बन्न पुगेको थियो ।
जिल्लाका १३ स्थानीय तहमध्ये हालसम्म मण्डनदेउपुर नगरपालिका, धुलिखेल नपा, बनेपा नपा र खानीखोला गाउँपालिकाले मात्रै साक्षर पालिका घोषणा गरेका छन् ।
कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले समन्वय केन्द्रले छोटो समयसीमा दिएर घोषणा गर्न दबाब दिएको उल्लेख गर्दै केही महीनामै घोषणा गर्ने बताए । “दिएको समयभित्र गर्ने हरदम प्रयास ग¥यौँ । तर विकटताका कारण अलि ढिला भएको हो, अब घोषणाकै तयारीमा छौँ,” जिम्बाले भने ।
भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले आफ्नो पालिकामा कति साक्षरताको तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको बताइन् । श्रेष्ठले भने, “साक्षरता तथ्याङ्क सङ्कलन गर्दैछौँ, साक्षर हुन बाँकीलाई यही वर्षभित्र साक्षर बनाएर घोषणा गर्नेछौँ ।” तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले पनि केही महीनाभित्रै साक्षर पालिका घोषणा गर्ने प्रतिबद्धता गरिन् ।
शिक्षा विकास तथा समन्वय केन्द्र प्रमुख डिकबहादुर राईले स्थानीय तहले समयसीमासम्म साक्षर पालिका घोषणा नगर्दा गतसाल साक्षर जिल्ला घोषणा गर्न नसकिएको बताए राईका अनुसार जिल्लामा २०७५ असार मसान्तसम्ममा ९६.३५ प्रतिशत नागरिक साक्षर भइसकेका छन् ।
मानव स्रोत विकास केन्द्रका उपनिर्देशक दीपक शर्माले स्थानीय तह तथा जिल्ला तहमा ९५ प्रतिशत साक्षरता जनसङ्ख्या हुँदा साक्षर घोषणा गर्न सकिने बताए ।
गयल शिक्षकको तलब कट्टा
नयाँ शैक्षिकसत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्ने भएको छ । नयाँ शैक्षिकसत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिए । उहाँका अनुसार गत शैक्षिकसत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो ।
लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापरवाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौँ ।” सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापरवाहीबारे अभिभावकले गाउँपालिकामा उजुरी गर्नसमेत सक्ने प्रावधान बनाइएको लामाले बताए ।
गत शैक्षिकसत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रधानअध्यापकलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअसमेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिनुभयो । लामाले भने, “अब प्रअले शिक्षक विद्यालय आएको–गएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ ।”
प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ । हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताए । “अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ,” लामाले भने ।
उच्च माध्यमिक विद्यालयसम्मका ४३ विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब ३०० शिक्षक कार्यरत छन् । गाउँपालिकाले वैशाखदेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ । रासस




प्रतिक्रिया