१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी



वैशाख २, नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै जेष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बीमा कार्यक्रम प्रभावकारी भएको छ ।

एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक ५० हजार बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ ।

देवदह मेडिकल कलेज र सुनवल नगरपालिकाबीच ७५ प्रतिशत रकम नगरपालिका र २५ प्रतिशत रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो ।

पहिलो चरणमा एक वर्षका लागि लागू गरिएको कार्यक्रमबाट करीब चार सय ज्येष्ठ नागरिकले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि नेपालले बताए ।

नगरपालिकाका अनुसार गतवर्ष दुई हजार ८५८ ज्येष्ठ नागरिकको बीमा गरिएकामा ४०० ले बीमा अनुसारको सेवा लिएका थिए । बीमा गरेका व्यक्तिले एक वर्षभित्र सो मूल्य बराबरको औषधि उपचार, ल्याब, औषधिलगायत सेवा निःशुल्क प्राप्त गरेका थिए ।

साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायमा सो अभियान ल्याइएकामा नगरपालिकाले ३६ लाख ९५ हजार र करीब १३ लाख उक्त कलेजले व्यहोरेको थियो ।

यसैबीच नगरपालिकाले अहिले पनि प्रत्येक चार महीनामा ज्येष्ठ नगारिकको नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपालले बताए । रासस

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ००:००