१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलमिलापले गाउँमा शान्ति



पेमा लामा

चैत २७, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का चन्द्रमान तामाङले छोराछोरीका कारणबाट एउटै टोलका छिमेकीसँग भएको विवाद मेलमिलप केन्द्रमार्फत मिलाएपछि अहिले निकै सहज भएको भन्दै खुसी व्यक्त गरे । केही महीना अगाडि छोराछोरीकै कारण विवाद भएपछि बोलचाल नै बन्द भएका उनीहरुको केन्द्रमा मेलमिलापकर्ताबाट विवाद समाधान गराएपछि आफू निकै खुसी भएको उनले बताए ।

“गाउँ टोलमा नै यस्तो कुरामा मिलौँ भनौँ भने उता एउटा कुरा यता अर्को कुरा हुन्छ, मिल्ने वातावरण नै बन्दैथ्यो” तामाङले भने, “मैले सोचेकै थिएन, शुरुमा त मलाई पनि गाली गर्ने होला, के होला भन्ने सोचेको थिएँ, तर दुवैलाई बोलाएर हार जीतभन्दा पनि दुवैको जीत हुने तरिकाले मिलाउनुभयो ।”

केन्द्रबाट मिलेर मिलापत्र गरेर फर्केपछि अहिले वादविवाद नै नभएको जस्तो एक अर्काकोमा आउने जाने र खाने गरेको बताए । “यस्तो खालको मिलापत्र गाउँमा कहिल्यै भएको थिएन” उनले भने, “अति गोप्य तरिकाले मिलाउनुहुँदो रहेछ ।”

अर्का स्थानीय धर्मप्रसाद पन्तले कानूनी रुपमा भन्दा भावनात्मक रुपमा मेलमिलाप गरिदिएकाले निकै सहज र सरलताको अनुभूति गर्न पाएको बताए । विवादमा भावनात्मक दृष्टिले भावनै मिलाइदिने भएकाले गाउँमा पछिल्लो अवस्थामा विवाद नै कम हुँदै गएको उनको भनाइ छ ।

मेलमिलापकर्ता डोल्मा लामाले कतिपय विवादहरु त केन्द्रसम्म नआईपुग्दै टोलमा नै मिल्ने गरेको बताइन् । “केन्द्रमा आउँदा नै केही होला कि, केही हुने हो कि भन्ने डरको मानसिकताले पनि गाउँ टोलमा नै मिलाउन आग्रह गर्ने गरेका छौँ” उनले भनिन् ।

मेलमिलाप केन्द्रका संयोजक इन्द्रजित तामाङले गाउँमा मादक पदार्थ सेवनबाट हुने झगडा, विवाद, चोरी, डकैती, सडक, लेनदेन, गाली बेइजेती खानेपानी, खर पाखा, घाँस काट्ने बेलामा हुने झगडा लगायतका विवाद धेरै आउने गरेको बताए । केही मात्रामा हिंसासम्बन्धीका झगडासमेत केन्द्रमा आएका उनले जानकारी दिए ।

उनले तालीममा सिकाएर पढाएको विधिबाट नै विवादको चुरो कुरा पत्ता लगाएर त्यसको समाधान गर्दै आएको बताए । विसं २०७२ बाट स्थापना भएर विवाद समाधानमा काम गर्दै आएको जनाउँदै उनले अहिले जनप्रतिनिधि आएपछि धेरै काम भएको बताए । गाउँमा विसं २०७२ मा केन्द्र स्थापना भएपछि अहिलेसम्ममा १०३ विवादका निवेदन परेकामा १०० विवाद समाधान गरेको मेलमिलापकर्ता तामाङले बताए । उनका अनुसार त्यहाँ नमिलेका तीन बहुसरोकारवाला विवादलाई माथिल्लो निकायमा पठाइएको छ ।

प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालका जिल्ला कार्यक्रम संयोजक उमा थापाले जिल्लाभित्र गठन भएका मेलमिलाप केन्द्रले कसरी र कुन तरिकाले काम गरिरहेको छ त्यसको अनुगमन गर्ने र उनीहरुलाई काम गर्दा आइपरेका समस्याको समाधान गर्ने उपायका बारेमा छलफल गरी थप क्षमता विकासका लागि विभिन्न केन्द्रहरुको अनुगमन गरिरहेको बताइन् ।

जिल्ला अनुगमन समितिका सदस्य एवं नेपाल बार एशोसियशन काभ्रेपलाञ्चोकका सचिव मधुसुदन वाग्लेले कानूनमा भएका कुरालाई टाढा राख्ने र भावनात्मक कुराहरुलाई बढी राखेर केन्द्रित गर्नुपर्ने बताए । “कानूनी कुरा ग¥यो भने म कानूनी रुपमा बलियो छु भन्ने अहंता हुन्छ र त्यसले एउटा पक्ष बलियो र अर्को पक्ष कमजोर हुनसक्छ”, उनले भनिन्, “कानूनी रुपमा म बलियो छु भन्ने पक्षले आफ्नो अडान छोड्दैन र त्यसले कमजोर पक्षको हित हुन सक्दैन ।”

अनुगमन समितिका संयोजक एवं अधिवक्ता लालतारा अधिकारीले स्थानीयस्तरमा हुने गरेका विवादलाई त्यही भावनात्मक रुपले मिलान गर्ने उद्देश्यले नै स्थापना भएकाले त्यहीअनुसार काम गर्दै आएको बताइन् । सामाजिक, परम्परागत, आर्थिक लगायतका अवस्थालाई ध्यानमा राखेर दुवैले जीतको अनुभूति गरेर समस्या समाधान गरेर गरिने मेलमिलाप केन्द्रको दायित्य भएको जानकारी दिइन् ।

जिल्ला अदालतका सहायक न्यायाधिवक्ता सन्तोष कटुवालले मेलमिलाप केन्द्रमा विवाद भएकाबीचमा परामर्श मात्रै गरेमा पनि विवादको समाधान हुनसक्ने आधार रहेकाले त्यसलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ००:००