कृष्ण न्यौपाने
चैत २७, दमौली । गण्डकी प्रदेश र प्रदेश नं ५ जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गाडी चल्ने पुल निर्माण गरिने भएको छ । तनहुँको घिरिङगाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि उक्त पुल निर्माण गरिन लागेको हो ।
पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २५ करोड विनियोजन गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । दुई सय १० मिटर लामो पुलको निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ । सिग्देलका अनुसार पुलनिर्माणको जिम्मा काठमाडौं स्थित युनाइटेड विल्डर्सले पाएको छ ।
पुलको शिलान्यास कार्य आगामी वैशाख दोस्रो साताभित्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, “अहिले प्रारम्भिक चरणको काम भइरहेको छ ।” निर्माण शुरु भएको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।
उपभोक्ता समिति गठन भएको छ महीनाभित्र बजेट पर्न सफल सो पुल दुई लेन प्रविधिमा निर्माण हुने निर्माण कम्पनीका प्रतिनिधि बालकुमार श्रेष्ठले जानकारी दिए । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य रहेका स्थानीयवासी माया दरैले जानकारी दिइन् ।
उनले भनिन्, “पुल निर्माण नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो, पुल निर्माण भएपछि सहज रुपमा आवातजावात गर्न सकिन्छ ।” पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौं सर्वसाधारण लाभान्वित हुनेछन् ।
दृश्यावलोकन स्तम्भ
तनहुँको भानु नगरपालिका–९ स्थित गढीमाई डाँडामा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिने भएको छ । उक्त ठाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित वडा कार्यालयले दृश्यावलोकन स्तम्भ निर्माण गर्न लागेको हो । करीब एक करोडको लागतमा निर्माण हुने दृश्यावलोकन स्तम्भको डिपिआर तयार गरिएको वडाध्यक्ष निलमसञ्जीवा श्रेष्ठले जानकारी दिए ।
समुन्द्र सतहबाट एक हजार ८० मिटर उचाइमा रहेको गढीमाई डाँडामा निर्माण हुने दृश्यवलोकन स्तम्भबाट तनहुँ, लमजुङ र गोरखाका विभिन्न भाग देख्न सकिने छ । त्यस्तै गणेश, लमजुङ, माछापुछ्रे र अन्नपूर्ण हिमालको दृश्यवलोकन समेत यहाँबाट गर्न सकिने जनाइएको छ ।
ट्रष्टबाट निर्माण गरिने दृश्यावलोकन स्तम्भ शुरु भएको तीनदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा पार्क र मन्दिर समेत निर्माण गर्ने योजना बनाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार गढीमाई डाँडामा पैदलयात्राका लागि दुई गोरेटो बाटो समेत बनाइनेछ । उनले भने, “दृश्यावलोकनस्तम्भ बनेपछि समग्र वडाकै विकासमा टेवा पुग्नेछ ।” रासस

प्रतिक्रिया