४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरीका कारण स्वास्थ्य सेवा प्रभावित



चैत २६, डोटी । आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए ।

एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएको बताइएको छ । छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन स्थानीयवासीले आग्रह गरेका छन् ।

लाखौँको नोक्सानी

हावाहुरीसँगै आएको असिनाले जिल्लाका विभिन्न ठाउँमा लाखौँको बालीनाली नोक्सानी गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका बडिकेदार, जोरायल, केआइसिंह, सायल, आदर्श, पूर्वीचौकी, बोगटान लगायत गाउँपालिका तथा शिखर नगरपालिका–१ मा ठूलो मात्रामा असिना परेको छ ।

असिनाका कारण सो क्षेत्रका सयौँ रोपनी खेतमा लगाइएको लाखौँको गहुँजौ खेती, तोरीबाली तथा तरकारी लगायत अन्यबालीमा ठूलो नोक्सानी पुगेको छ । असिना तथा हावाहुरीले जिल्लामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

सोमबार साँझ ५ बजेतिर आएको हावाहुरीसँगै परेको असिनाले पाकेर भित्र्याउनै लागिएको गहुँबालीमा बढी नोक्सान पु¥याएपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीमा आश्रित किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पुगेपछि निराश भएका छन् । असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काँक्रा खेतीमा समेत नोक्सानी पुगेको बताइएको छ ।

जोखिम न्यूनीकरणका योजना माग हुँदैनन्

जिल्लामा विपद् जोखिम न्यूनिकरणका योजनामा माग नै नहुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले आफू निर्वाचित भएर आएदेखि हालसम्म कसैले पनि विपद् जोखिम न्यूनीकरणका योजना माग नगरेको बताए ।

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले पूर्वीचौकी गाउँपालिकामा जनप्रतिनिधि र सरोकारवालासँग गरेको संवाद कार्यक्रममा अध्यक्ष बोगटीले मागै नभएका योजना बनाउन गाह्रो हुने बताउँदै भने, “गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि पास गरिसकेको छ, योजना चाहियो ।”

उक्त गाउँपालिकामा विपद्का हिसाबले सङ्कटासन्न क्षेत्र पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराइएको र विपद् व्यवस्थापनका लागि करीब १५ लाखको कोष स्थापना भएको अध्यक्ष बोगटीले जानकारी दिए ।

बस्तीस्तरबाटै विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना माग भएर आएमा निश्चित योजना बनाएर लागु गरिने पूर्वचौकी गाउँपालिकाका उपाध्यक्ष एवं योजना तर्जुमा समितिका अध्यक्ष निर्मला साउदले बताइन् । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले परियोजना अन्तर्गत भइरहेका कार्यक्रमबारेमा जानकारी दिएका थिए ।

सिडिसीले सञ्चालन गरिरहेको नेपाल विपद् जोखिम न्यूनीकरण परियोजना २०१८ फेबु्रअरीदेखि २०१९ सेप्टेम्बरका लागि डोटीका दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा सञ्चालन भइरहेको छ । रासस

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार ००:००