१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायिक समितिः मेलमिलापबाट मुद्दाको छिनोफानो



कृष्ण दर्नाल

चैत १९, पाल्पा । स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् । मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो ।

तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समिति संयोजक दमन्ती थापाका अनुसार अधिकांश मुद्दा मेलमिलाप छलफलका माध्यमबाट टुङ्गो लगाउने गरिएको बताइन् । “दुवै पक्षलाई गाउँपालिकामा बोलाइ छलफल गराइन्छ, दुवै पक्षको सहमतिका आधारमा मेलमिलापबाट मुद्दा टुङ्गो लगाउने काम भएको छ” न्यायिक समिति संयोजक थापाको भनाइ छ ।

तिनाउको न्यायिक समिति गठनपछि १७ मुद्दा दर्ता भएकामा ११ मुद्दाको मेलमिलापमार्फत टुङ्गो लगाइएको छ । स्थानीयतहमा श्रीमान श्रीमतीको झगडा, सम्बन्धविच्छेद, जग्गाका विवादका मुद्दा छन् । स्थानीय बासिन्दाले खानेपानी पाइप काटेको, ज्याला नपाएका, छिमेकीको जग्गा मिचेर भोग चलन गरिरहेका, घरायसी झगडाका मुद्दा आपसी सहमतिमा टुङ्गिएका छन् ।

सम्बन्धविच्छेद नगर्न भनी उजुरी गरेका एकापसमा मिलेर घर फर्केका संयोजक थापाको भनाइ छ । मुद्दा मेलमिलाप पद्धतिको प्रयोगले दुवैलाई न्याय हुने काम भएको छ । मेलमिलापले दुवै पक्ष राजीखुशी हुने गरी काम भएपछि स्थानीय तहले मेलमिलाप पद्धति रोजेको हो ।

मेलमिलाप पद्धतिबाट मुद्दाको छिनोफानो गर्न सहज हुने भएपछि जिल्लाका रामपुर नगरपालिका, तिनाउ लगायतका गाउँपालिकाले मेलमिलाप सम्बन्धी तालीम सञ्चालन समेत गरेका छन् । तालीमबाट प्रत्येक वडामा तीनजनासम्म मेलमिलापकर्ता उत्पादन भएका छन् । न्यायिक समिति गठनसँगै करीब २० महीनाको अवधिमा तानसेन नगरपालिका ३२ मुद्दा दर्ता हुन आएका छन् । सोमध्ये १९ मुद्दाको किनारा लागेको, सात अन्य निकायमा पठाएको र छ मुद्दा चलिरहेका छन् । रामपुरमा २०६ मा ११५ मुद्दा सम्पादन भएका छन् । बाँकी छ मुद्दा अन्यत्र पठाएका र ८५ मुद्दा छलफलमा रहेका छन् ।

बगनासकाली गाउँपालिकामा ३४ मा २९ मुद्दा सम्पादन गरिएको छ । निस्दीगाउँपालिका तीन मुद्दा हालसम्म दर्ता भएकामा एउटा मात्र मुद्दाको छिनोफानो गरिएको हो । एउटा अन्यत्र निकायमा र एउटा मुद्दाको किनारा लगाउन बाँकी छ । पूर्व खोला गाउँपालिकामा १० मुद्दा स्थानीय न्यायिक समितिमा दर्ता भएकामा छ मुद्दाको किनारा लगाएको छ । चार मुद्दा स्थानीय न्यायिक समितिको क्षेत्रधिकारभित्र नपर्ने हुँदा अन्यत्र सिफारिस गरिएको छ ।

रम्भा गाउँपालिकामा आठ मा पाँच मुद्दा किनारा लगाइएका र तीन मुद्दा चालू आवको चलिरहेका छन् । रैनादेवी छहरा गाउँपालिकामा सात मुद्दा दर्ता भएका सात मुद्दानै किनारा लगाइएको छ । रिब्दीकोट गाउँपालिका २६ मुद्दामा २३ मुद्दा किनारा लगाइएको छ । बाँकी तीन मुद्दा छिनोफानो हुन बाँकी रहेका छन् ।

तिनाउका १७ मा ११ मुद्दा किनारा लागेका र पाँच मुद्दा अयन्त्र सिफारिस गरिएका छन् । एउटा मुद्दा सम्पादन हुन बाँकी छ । एउटा मुद्दा चालू आवमा जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको फिर्ता भई आएको संयोजक थापाको भनाइ छ । माथागढी गाउँपालिका १३ मा १० सम्पादन भएका र तीन मुद्दा चालू आवमा सम्पादन हुने स्थानीय न्यायिक समितिले जनाएको छ ।

रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक चेतना गाहाले समितिका आएका सबै मुद्दा मेलमिलापबाट टुङ्ग्याउने गरिएको बताइन् । कतिपय कानूनी समस्या देखिएमा वकिल र कर्मचारीको सहयोग लिने गरिएको छ । स्थानीय न्यायिक समितिमा स्थानीयतहका उपप्रमुख संयोजक, अन्य दुई सदस्यसहित रहन्छन् । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००