१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँझो जमीन भाडामा लिएर कृषि उद्यम



रीता लामा

चैत १९, घोराही । तीन वर्ष अघिसम्म वनमारा झारले भरिएको घोराही उपमहानगरपालिका–१२ मा रहेको रतनपुरर माध्यमिक विद्यालयको जमीन अहिले हराभरा भएको छ । लामो समयदेखि बाँझो रहेको उक्त विद्यालयको १० हेक्टर जमीनमा अहिले रोल्पाका एक दम्पतीले हराभरा बनाउँदै छन् ।

विद्यालयको पर्खाल बाहिर रहेको त्यो जग्गा त्यतिकै छोडिएको थियो । उहिल्यैदेखि त्यहाँ न रुख बिरुवा रोपिएको थियो नत खेतीपाती गरियो न त्यहाँ सिँचाइको सुविधा थियो तर अहिले रोल्पाका नन्दराम वली र उनकी श्रीमती तीलसरा रातदिन मेहनत गर्दै परिवार नै जमीन खनजोतमा लागेका छन् ।

तीन वर्ष पहिले रोल्पा भावाङ–४ झवाङबाट वली परिवार कृषि गर्नकै लागि दाङ झरेका थिए । उनले दाङ झरे पनि जग्गा खोज्दै जाने क्रममा रतनपुर माविको त्यही बाँझो जमीन देखे । विद्यालयसँग जग्गा भाडाका लागि प्रस्ताव गरे । विद्यालयले सरकारी जग्गा भएका कारण बोलपत्र आह्वान ग¥यो । नन्दरामले विद्यालयमा सबैभन्दा राम्रो मूल्य दिने प्रस्ताव पेस गरे र जग्गा २० वर्षका लागि भाडामा पाए ।

प्रतिवर्ष छ हजार ४६० बुझाउने र पाँच वर्षपछि प्रतिवर्ष पाँच प्रतिशतका दरले भाडा लाग्ने गरि सम्झौता पनि गरे । अहिले विद्यालयको १० हेक्टर बाँझो जमीन हराभरा बनाउन नन्दरामका साला खगेन्द्र वलीले पनि सहयोग गरिरहेका छन् । उनीहरुले अहिले त्यहाँ व्यावसायिक केरा र टमाटर खेती गर्दै आएका छन् । एक बिघा जमीनमा केरा मात्रै लगाएका छन् भने त्यतिनै जग्गामा टमाटर पनि रोपेका छन् ।

गत वर्षदेखि थालेको उनको केरा खेती अहिले केही फल्दै छ त केही हुर्किदै छ । अरु बाँकी जमीनमा सिमी, लौका, घिरौला लगायतका तरकारी रोप्ने र व्यावसायिक कुखुरापालन गर्ने तयारीमा पनि लागेका छन् । सिँचाइ नभएको पाखो जमीनलाई खनजोत गरी लिफ्ट सिँचाइमार्फत् उनले खेती थालेका हुन् ।

अहिले उनको बारीमा करीब आठ हजार मालभोग केरा फल्दै छन् । केरा खेतीको शुरुआत भएको हुँदा उनको कृषिमा अहिले लगानी मात्रै परेको छ । नन्दरामले भने, “पाखो जग्गालाई गोडमेल गर्न र खेती गर्नकै लागि करीब ३९ लाख खर्च गरिसके तर आम्दानी भएको छैन ।” उनको बारीमा अहिले पनि दैनिक १५ देखि १७ कामदार बारीमा काम गरिरहेका भेटिन्छन् ।

“अहिले म लगानीको चरणमा छु, आम्दानी हुने आशमा छु ।” उनले भने, “सीप नसिकेरै व्यावसायिक कृषिमा हात हाले अहिले केही असहज भएको छ ।” कृषिमा लगानी सँगसँगै सीप पनि महत्वपूर्ण भएको उनको बुझाइ छ । कृषि कार्यालयबाट आफूले राम्रो साथ सहयोग पाएको उनी बताउछन् ।

उनको मेहतन र लगनशीलतालाई देखेर साना तथा मझौला किसान आयोजना (रिझम)ले समेत सोलारमार्फत् लिफ्ट सिँचाइको व्यवस्था गरिदिएको छ । उसैको सहयोगमा उनले उक्त स्थानमा खोलाको पानीलाई मोटर लगाएर बारीमा तानेर खेती थालेका छन् । कृषिसम्बन्धी प्राविधिक ज्ञान नभएका वलीले खेती गर्दै सीप सिक्दै पनि गरिरहेका छन् ।

परम्परागत रुपमा खेती गर्दै आएका उनले काम गर्दै र अनुभवले सिक्दै खेती गर्दै आइरहेको बताए । उनले अहिले आफ्नो कृषि कामलाई सहकारीको नाम पनि दिएका छन् । हापुर रतनपुर बहुउद्देश्य कृषि सहकारी संस्था दर्ता गरेर आफ्नो कृषिकर्मलाई व्यावसायिक बनाएका छन् । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००