१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरी पीडितलाई प्रदेश ३ को सहयोग



चैत १९, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हावाहुरीबाट पीडित भएका बारा र पर्साका जनतालाई प्रदेश ३ सरकारले पनि सहयोग गर्ने बताएका छन् ।

आँधीग्रस्त क्षेत्रको प्रत्यक्ष्य अवलोकनपछि मुख्यमन्त्री पौडेलले विपद्को यो घडीमा यो वा त्यो प्रदेश नभनी सहयोग गरिने बताए । पौडेलले प्रदेश ३ ले तत्काल राहत तथा पीडित जनताको पुनस्थापनाका लागि दीर्घकालीन व्यवस्थापनमा पनि सहयोग गर्ने उल्लेख गरे ।

यसअघि सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका मुख्यमन्त्रीले बाराको फेटा तथा कलैयाका पीडितलाई भेटेर सान्त्वना एवं समवेदना व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

मुख्यमन्त्रीसँग प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली, प्रदेशसभा सदस्य दीपक निरौला लगायतले घटनास्थलको अवलोकन तथा बारा र पर्साका विभिन्न अस्पतालमा पुगी बिरामीको स्वास्थ्य अवस्था बुझेको संयोजक दाहालले बताए ।

अवलोकन गरी फर्किएका मुख्यमन्त्रीले घटनालाई दर्दनाक र त्रासदीपूर्ण प्राकृतिक विपत् भएको बताउँदै पीडितको व्यवस्थापनमा प्रदेशले के गर्न सक्छ छलफलपछि बताउने उल्लेख गरे । सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश ३ सरकारले आवश्यक औषधि उपचारसहित चिकित्सक तथा स्वस्थ्यकर्मीको टोली पठाएको र उनीहरुले बाराको अस्पतालबाट घाइते तथा बिरामीको उपचार गरिरहेको बताए । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००