ज्ञानेन्द्र न्यौपाने
चैत १८, रसुवा । विसं २०७२ वैशाख १२ को भूकम्पबाट विस्थापित तिरु र गोगनेका जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राहीलाई तिरुमा एकीकृत बस्ती विकास गरि पुनःस्थापना गरिने भएको छ । यसका लागि १०९ विस्थापित परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपूर्जा वितरण गरिएको छ ।
प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सांसद प्रेम तामाङ र प्राधिकरणका सदस्य धुव्र शर्माले विस्थापित परिवारलाई लालपूर्जा वितरण गरे । तिरु र गोगनेका विस्थापितहरु जोखिमपूर्ण अवस्थामा खाल्टेमा बसिरहेका थिए ।
सांसद आचार्यले विस्थापितलाई सुरक्षित पुनःस्थापन गराउँदा मात्रै साँचो विजय हुने बताए । प्रदेशसभा सदस्य तामाङले जोखिमपूर्ण अवस्थामा रहेका विस्थापित लाइ जसरि पनि स्थानान्तरण गरिने दृढता व्यक्त गरे ।
प्राधिकरणका सदस्य शर्माले प्राधिकरणले भूकम्प प्रभावित परिवारलाई सुरक्षित बसोबासमा जोड दिइरहेको छ भन्दै रसुवाको खाल्टेमा बसोबासका लागि असुरक्षित रहेकाले त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापित सबैलाई तिरूको एकीकृत बस्तीमा स्थानान्तरण हुन आग्रह गरे ।
गाउँपालिकाका अघ्यक्ष उपेन्द्र लम्सालले बाँकी रहेका अन्य विस्थापितलाई पनि सुरक्षित पुनःस्थापन गराउन लागिपरेको र सबैलाई सुरक्षित पुनःस्थापन गराउनु नै गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताए । तिरू गोगनेका २५० भन्दा बढी विस्थापितमध्ये एकीकृत बस्तीका लागि पहिलो चरणमा १०९ घरपरिवारलाई एकीकृत बस्तीको जग्गा व्यवस्थापन भइसकेको प्राधिकरण रसुवाले जनाएको छ ।
झोलुङ्गे पुल बन्दै
दक्षिणी रसुवाको कालिका गाउँपालिकास्थित धोबीखोला झोलुङ्गे पुलको निर्माण धमाधम अगाडि बढेको छ । गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेका अनुसार ग्रामीण मोटरमार्ग निर्माण भए तापनि वर्षायाममा प्राङ्से पहिराका कारण पैदलमार्गीलाई आवतजावतमा परेको समस्या समाधान गर्न धैबुङकोट र जिबजिबेबीच धोबीखोलामा झोलुङ्गे पुल निर्माणको काम १० प्रतिशत भएको छ । पुल निर्माणको काम वर्षायामअगावै सम्पन्न हुने बताइएको छ ।
एक दशक अगाडिदेखि वर्षायाममा चल्ने पहिरो रोक्न नसक्दा आवतजावतको ठूलो समस्या झेल्दैआएका नौकुण्ड गाउँपालिकाको यार्सादेखि गाउँपालिकाको जिबजिबेसमेतका हजारौँ बासिन्दाको दीर्घकालीन समएस्या हल गर्न झोलुङ्गे पुल निर्माणको कदम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको अनुदान र जिल्ला समन्वय समितिको सामान सहयोगमा उक्त पुल निर्माण अगाडि बढेको बताइएको छ । झोलुङ्गे पुल निर्माण भएपछि दैनिक ६०० भन्दा बढी स्थानीयबासीले आवतजावतको सुविधा पाउने बताइएको छ । झोलुङ्गे पुलको लम्बाइ भने ११८ मिटर रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।
पुल निर्माणमा गाउँपालिकाले २० लाख विनियोजित गरिसकेको छ । जिल्ला समन्वय समितिको प्राप्त निर्माण सामग्रीसमेत मूल्याङ्कन गर्दा पुलको लागत भने ४० देखि ५० लाख हुने अनुमान गरिएको बताइएको छ ।
प्रत्येक वर्ष वर्षायाम शुरूआतसँगै असारदेखि भदौसम्म प्राङ्से क्षेत्रबाट निरन्तर झर्ने पहिराले जीउज्यान नै जोखिममा राखी ओहोरदोहोर गर्नुपर्ने बाध्यताबीच स्थानीय सरकारले जनहितकारी कामको थालनी गरेको समाजसेवी विष्णुप्रसाद पौडेलले बताए ।
कालिकास्थान, घुम्ती, जिबजिबे हुँदै यार्सा भूभागको पूर्वी भेक छुने ग्रामीण सडकमा वर्षायाम सकिएसँगै हिउँद यामका लागि ठूलो धनराशि खर्च गरेर वर्षेनी सडक खोल्ने समस्या बढिरहेका अवस्थामा यस वर्षको दशैँ अगावै रसुवावाट सांसद आचार्यले विकासका लागि आफ्नो निजीस्तरबाट खरिद गरेको स्काभेटरको सहयोगले सडक सञ्चालन भएको समाजसेवी पौडेलले जानकारी दिए । रासस
प्रतिक्रिया