५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाले ग-यो ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा



चैत १८, बेझाड । पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले २० लाख बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा दर्ता कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए । “आर्थिक अभावमा अस्पतालसम्म पुगेर स्वास्थ्य उपचार गर्न नसक्दा उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था गाउँमा रहेको छ, गाउँपालिका भित्रका कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका छौँ” उनले भने ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर घरमा बीमाकर्ता परिचालन गरेर स्वास्थ्य बीमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्न थालेको छ ।

आर्थिक समस्याले गर्दा यहाँका नागरिक उपचार अभावमा भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका थिए । बीमा गरेपछि स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्दै गएको पाइएको छ । गत वर्ष पनि गाउँपालिकाले विपन्न स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २० लाख रकम विनियोजन गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष विपन्न अन्तर्गत पनि पहिचान गरेर अति विपन्न, एकल महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर स्वास्थ्य बीमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा दर्तापश्चात् गाउँपालिकाका आठवटै वडामा बीमाको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । साथै गाउँपालिकाले घर घरमा पुगेर ज्येष्ठ नागरिक उपचार सेवा, गाउँ गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सुत्केरी महिलालाई पोषण भत्ता, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ००:००