१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पताल धाउन बाध्य



दाने बोहरा

चैत १४, हुम्ला । जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।

अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ ।

सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने समस्या छ ।

यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिका–३ का नागरिक सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हुँदा पनि रायाँ स्वास्थ्यचौकीमा उपचार नहुँदा बिरामी बोकेर नै जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ । त्यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि नजिकैमा रहेको रायाँ स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानीयवासी मानबहादुर परियारले गुनासो गरे ।

परियारका अनुसार आफ्ना बुबा दमका रोगी भएको र आमालाई घुँडा, गोडा दुख्ने रोगले सताएकाले उनीहरुका लागि आवश्यक पर्ने औषधि र सुई सिमकोटस्थित फार्मेसीबाट खरिद गरेर लगेको तर सुई लगाउने स्वास्थ्यकर्मी पनि रायाँ स्वास्थ्यचौकीमा नपाएको गुनासो गरे ।

रायाँ स्वास्थ्यचौकीमा चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल दिने मान्छे नभएको दुखेसो परियारले गरे । अहिले त्यहाँका नागरिक बिरामी हुँदा जिल्ला अस्पताल सिमकोटमा नै धाउनुपर्ने बाध्यता छ । रायाँ स्वास्थ्यचौकीमा चार जनाको दरबन्दी छ ।

एक जना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी गरी चारजनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार बिनानै फर्कनुपर्ने अवस्था छ । स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवर्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर त्यहाँका बिरामी घर फर्किने गरेका छन् ।

कार्यालय प्रमुख भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएको छ भने अर्का अनमी कविता बुढा तालीमकै सिलसिलामा सुर्खेतमा रहेकी छन् । स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्थानीयवासीको भनाइ छ ।

अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष गुमन रावलको भनाइ छ । यस्तै, सिमकोट गाउँपालिका ७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई उपचार गराउन समस्या भएको स्थानीयवासी विनोद विकले बताए ।

ती स्वास्थ्यचौकीमा दुई जना अनमीको दरबन्दी रहेता पनि तालीम भन्दै नेपालगञ्ज सुर्खेत झरेकाले समस्या भएको गाउँ कार्यपालिकाका सदस्यसमेत रहेका विकले बताए । महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्योपचारका लागि गर्भवतीले एक दिन पैदल हिँडेर भएपनि जिल्ला अस्पताल पुग्ने गर्छन् । रासस

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार ००:००