१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौमूल गाउँपालिकामा नागरिकता शिविर, ८२ वर्षीय बृद्धले पाए नागरिकता



चैत १२, बडीमालिका । बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएको नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाएका छन् ।

उनलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेको प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिए ।

नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सकेका थिएनन् । त्यो सँगै नागरिकतासँग सम्बन्धित अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उनका आफन्तले समेत खुशी व्यक्त गरेका छन् ।

विवाह नगरेर भाइ र आफन्तको सहयोगमा बसेका बोहरालाई नागरिकता बनाउनु पर्छ भन्ने थाहा नै नभएको उनले बताए । शिविर बस्ने थाहा पाएपछि उनकी भतिजी नाता पर्ने विमला बोहराले गाउँपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेको बिमला बोहराले बताए ।

प्रतिनिधिसभाका सदस्य सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संयुक्तरूपमा हस्तान्त्रण गरेका थिए । नागरिकतासम्बन्धी शिविरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताए । शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामवली, भेटेनरी शाखाले पशुसम्बन्धी निःशुल्क सेवा दिने आयोजकले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले यो आर्थिक वर्षमा खप्तड छेडेदह गाउँपालिका, बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र गौमूल गाउँपालिकामा शिविर सञ्चालन गरेर शिविरबाट दुई हजार ६०० बढीलाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । गाउँपालिकामा सञ्चालन भएका शिबिरबाट महिला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले सहजरूपमा सेवा पाएका छन् । रासस

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार ००:००