२३ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मघैका महिला सामूहिक खेतीतर्फ



चैत ५, घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका–१६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याज खेती गर्दै आएका छन् ।

मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताइन् । समूहको करीब १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिझम)को ११ लाख ५५ हजारमा लसुन र प्याज खेती थालिएको हो । टोलका २२ महिला आवद्ध सो समूहले लसुन र प्याज खेती गर्न दुई ट्रयाक्टर, एउटा पम्पसेट, डिजिटल काँटा एउटा र १० स्प्रे ट्याङ्की खरीद गरेको छ ।

यसअघि गरिएको च्याउ खेतीबाट मनग्य आम्दानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताइन् । “एक्लाएक्लै काम गर्दा व्यावसायिक रुपमा जान समस्या हुन्छ । रकम र समय बढी खर्च हुन्छ” उनले भनिन् । समूहमा लागेपछि आफ्नो दैनिकी चलाउन सजिलो भएको उपाध्यक्ष आशा चौधरी बताउछिन् । समूहमा जम्मा गरिएको रकमले घरखर्च चलाउन सजिलो भएको छ ।

समूहमा लागेर च्याउ, लसुन र प्याज खेती मात्र होइन सामूहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामूहिक रुपमा गर्दै आएको उनीहरुले बताए । सो रकम समूहमा जम्मा गरिने र आवश्यक परेको समयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्ने गरिएको चौधरीले बताइन् ।

महिलालाई सामूहिक रुपमा खेती गर्न सहयोग गरिएको साना कृषि आयस्तर परियोजनाका कार्यक्रम संयोजक रिप्रसाद शर्माले बताए । आयोजनाले हाल च्याउ, लसुन, मसुरो, माछापालन लगायत क्षेत्रमा ३३ करोड लगानी गरेको छ ।

आयोजनाले समूहलाई ८० देखि ९० प्रतिशतसम्म, सहकारीलाई अधिकतम ६५ प्रतिशत तथा व्यक्तिलाई ५० देखि ६५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ । रासस

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार ००:००