४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वर्षदेखि बन्द प्रसूति शल्यक्रिया सेवा पुन सञ्चालनमा



फागुन २९, रामेछाप । रामेछापको मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्ष अगाडिदेखि बन्द भएको २४ घण्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा मङ्गलबार शुरु भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमार्फत सञ्चालन गर्ने भन्ने निर्णय अन्योल हुँदा रामेछापमा शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी गराउने सेवा ठप्प भएको थियो ।

नीतिगत अन्योलसँगै पैसा तथा जनशक्ति समेतको अभावका कारण ०७४ सालको चैत महीनाबाट सेवा ठप्प भएको भए पनि अहिले स्थानीयतहले नै जिम्मेवारी लिने गरी नीतिगत समस्या टुङ्गिएसँगै आवश्यक बजेटको व्यवस्था भएको र शल्यक्रियाका लागि चाहिने चिकित्सक, एनेस्थेसिया असिस्टेन्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मी समेतको नियुक्ति भइसकेकाले सेवा शुरु गरिएको मन्थली नगरपालिकका नगर प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।

शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक सबै सहयोग नगरपालिकाले उपलब्ध गराउने भएकाले मङ्गलबारदेखि नै सेवा सञ्चालन भएको प्रमुख बस्नेतले बताए । यसका लागि शल्यक्रिया गर्ने चिकित्सक, आवश्यक औषधि, एनेस्थेसिया असिस्टेन्ट लगायतको स्वास्थ्यकर्मीको टोली प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेको केन्द्रले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय या नगरपालिका कुन निकायमार्फत सेवा सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालय र विभागका पदाधिकारी टुङ्गोमा पुग्न ढिलाइ हुँदा रामेछापमा सुत्केरी हुन नसकेका महिलाको ज्यान बचाउन कठिनाइ भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २४ सै घण्टा दक्ष जनशक्ति राखेर जटिल प्रकारका गर्भवती महिलाको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २०७३ बैशाखदेखि सञ्चालनमा थियो ।

गएको असार मसान्तसम्म मन्थलीमै १३६ को शल्यक्रिया मार्फत सुत्केरी गराइएको तथ्याङ्क केन्द्रसँग रहेको छ । उक्त अवधिमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्ने महिला मासिकरूपमा १८ देखि २० जनासम्म आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत भरतकुमार श्रेष्ठले जानकारी दिए । सेवा बन्दसँगै रामेछाप जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका गर्भवती महिलाले समस्या भोग्दै आउनुपरेको थियो ।

सेवा बन्द हुँदा सुत्केरी हुन नसकेर शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीले धेरै समस्या झेल्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत श्रेष्ठले बताए । मन्थलीमा पुगेपछि निःशुल्क शल्यक्रिया मार्फत् सुरक्षित सुत्केरी गराइन्छ भन्ने सन्देश गाउँगाउँमा पुगेकाले गर्भवती महिलाहरू स्वास्थ्यचौकीबाट सिफारिस गरेर आउने गरेका थिए ।

सेवा शुरु भएसँगै अकालमा ज्यान जानेलाई बचाउन सक्ने अवस्था भएको तामाकोशी सहकारी अस्पतालका चिकित्सक डा सुमन कर्माचार्यले बताए । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ००:००