फागुन २८, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको समन्वयमा सञ्चालन गरिएको हो ।
केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ । नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौंबीच २०७५ वैशाखमा भएको सम्झौता अनुसार नगरपालिकाले दुई रोपनी १४ आना जमीन उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए ।
नगरपालिकाको ४० लाख लागतमा सो केन्द्रका लागि चारकोठे पक्की भवनसमेत निर्माण गरिएको छ । आँखाका रोगीलाई थप सुविधा दिने उद्देश्यले अस्पतालको रूपमा उपचार केन्द्र स्थापना गरिएको नगरप्रमुख विष्टको भनाइ छ ।
गढीमा बाँदर आतङ्क
मकवानपुरको गढी गाउँपालिकामा बाँदरको आतङ्कबाट स्थानीय बासिन्दा समस्यामा परेका छन् । जङ्गलबाट आएका बाँदरले खेत र घरमा भएका खाद्यान्न कृषिबाली खाइदिने र लत्ताकपडा भाँडाकुँडा नष्ट पारिदिनाले स्थानीयवासी उठीबासको अवस्थामा पुगेको गुनासो छ । बाँदर आतङ्कले सुकौरा र बुढीचौरका स्थानीयवासी बेँसीतिर झरेको बताइएको छ ।
विगतदेखि बाँदरको आतङ्क झेलिरहेका स्थानीयवासी थप समस्यामा परेपछि उठीबासको अवस्थामा पुगेको सुकौराका रामसिंह घलानले बताए । बाँदरको आतङ्क रोक्न रात्रि र दिनमा खेत र घरको सुरक्षाका लागि जागा बस्नुपरेको उनको भनाइ छ ।
गढी–७ का थीरमान बलले खेतमा मात्रै नभई घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा समेत बाँदरको हुलले नष्ट गर्ने गरेको गुनासो गरे । जङ्गलमा खानेकुरा अभाव भएपछि बाँदर गाउँघरमा पसेको बाँदरसम्बन्धी अध्ययन गर्दै आएका वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक वासुदेव पोखरेलले बताए । बाँदर आतङ्क रोक्न छिट्टै पहल हुने गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताए । रासस


प्रतिक्रिया