८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा छोडिएका चौपाया संरक्षण अभियानमा युवकहरू



नारायणी रजौरे

फागुन २८, दाङ । दाङका विभिन्न बजार क्षेत्रमा छाडा रूपमा छोडिएका चौपायाको बिगबिगी बढिरहेको बेला तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका युवकहरू भने छाडा छोडिएका चौपाया संरक्षण अभियानमा जुटेका छन् ।

यहाँका ११ युवक मिलेर राष्ट्रिय गाई संरक्षण तथा संवर्द्धन संस्था स्थापना गरी दुई वर्षदेखि गाई तथा गोरु संरक्षणमा जुटेका हुन् । शुरुका दिनमा तुलसीपुर बजारमा छाडा छोडिएका २० गाई तथा बाच्छाबाट शुरु गरिएको सो संरक्षण अभियान अहिले गौशालामा परिणत भएको बताउछन्, संस्थाका उपाध्यक्ष मीनराज सापकोटा ।

उनी भन्छन्, “अहिले २०५ गाई र पाँच गोरु छन् । ती सबै यहाँका विभिन्न स्थानमा छाडा रूपमा भेटिएका हुन् ।” युवकहरूले गाई संरक्षणका लागि भन्दै स्थानीय एक व्यक्तिको चार बिघा जग्गा वार्षिक एक लाखमा भाडामा लिएका छन् । सोही ठाउँमा अहिले गौशाला बनाएर गाई संरक्षण गरिरहेका छन् । शुरुमा तुलसीपुर उपमहानगरपालिका–६ ले ५० हजार सहयोग ग¥यो । त्यस्तै पशुसेवा कार्यालय तुलसीपुरले गाईलाई बस्नको लागि ट्रस निर्माण गरेर सहयोग गरेको युवकहरू बताउँछन् ।

युवकहरूले सोही जग्गामध्ये केहीमा गौशाला निर्माण गरेर गाईको संरक्षण गर्दै आएका छन् भने केही जग्गामा गाईलाई घाँस तथा पराल खुवाउन धान तथा गहुँ खेती पनि गरिरहेका छन् ।

केही समय पहिले पशु निर्देशनालय हरिहर भवन काठमाडौंले झण्डै पाँच लाख अनुदान दियो । संस्थाका सचिव कमल बस्नेतका अनुसार सोही रकमबाट गाईलाई राख्न अहिले गौशाला भवन, दाना तथा पानी खुवाउन डुँड तथा ड्रम निर्माण गरिएको छ भने जग्गा संरक्षणका लागि तारबार गरिएको छ ।

“अहिले भने गाईको मल बिक्री र जग्गामा गरिएको अन्नबालीबाट वार्षिक ६ देखि ७ लाख सम्म आम्दानी हुन्छ” उनले भने, “तर यो आम्दानी भने पर्याप्त छैन, किनकी सोही रकमबाट तीन जना गाई हेरालुलाई तलब खुवाउन, जग्गाको भाडा तिर्न र गाईलाई दाना तथा पराल खुवाउन पुग्दैन ।”

सचिव बस्नेतले वैदेशिक रोजगारीका लागि पाँच वर्ष मलेशिया बसेर स्वदेश फर्किँदा छाडा चौपायाको समस्या देखेपछि अब विदेश जाँदिन, बरु गाई संरक्षणमा लाग्छु भन्ने सोच आएको बताए । उनले त्यसपछि साथीभाइसँग सल्लाह गरी छाडा छोडिएका चौपायाको संरक्षणमा लागेको बताए ।

“जिल्लाका विभिन्न ठाउँमा अहिले पनि गाईको दूध खाने अनि बजारमा ल्याएर छोड्ने प्रवृत्ति छ, त्यसलाई पूर्णरूपमा अन्त्य गर्ने र गाईको संरक्षण गर्ने भन्दै यो अभियानमा लागेको हूँ” सचिव बस्नेतले भने ।

उनको गौशालामा मल खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४५ वर्षीय हरिप्रसाद अधिकारीले आफ्नै घर आँगनमा गाईको मल पाइने भएकाले किन्न आएको बताइन् । यसपटक घरमा प्राङ्गारिक मल हालेर तरकारी खेती गर्ने सोच भएकाले मल किन्न आएको उनको भनाइ छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ३५ वर्षीया नोखी रावतले पनि आफू गौशालामा मल तथा गाईको गहुँत लिन आएको बताइन् । उनले घरमा धार्मिक कार्य गर्न लागेकाले यहाँ पाइन्छ भन्ने थाहा पाएर आएको बताइन् ।

संस्थाका अध्यक्ष प्रेमराज धितालले समाजमा धार्मिक तथा पितृ कार्यमा गाईको धेरै महत्व रहेको तर पछिल्ला वर्षमा धेरै ठाउँमा गाईलाई छाडा छोडिने गरेको देख्दा संरक्षणका लागि आफूहरुले यो अभियान शुरु गरेको बताए ।

उनले बजार क्षेत्रबाट गौशाला करीब तीन किलोमिटरको दूरीमा रहेकाले दैनिक जसो गाई बजारमा भेटिने भएकाले दाना तथा पानी खुवाउन केही समस्या हुने गरेको बताए । उपमहानगरपालिकाले गौशालाको लागि चरन क्षेत्र तथा खोला नजिकै पर्ने स्थानमा जग्गाको निःशुल्क व्यवस्था गरिदिए सजिलो हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार ००:००