२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन



फागुन २७, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि एक करोड २० लाख र पुनःनिर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ । प्रत्येक बस्तीका लागि २० लाखका दरले बजेट विनियोजन गरिएको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताए । प्रत्येक बस्ती पुनःनिर्माणका लागि चालू आर्थिक वर्षभित्र पाँच करोड बजेट निकासा गरिएको उनले बताए ।

उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन भएको हो ।

उपत्यका बाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको भीमेश्वर मन्दिर रहेको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएको आयोजना निर्देशक प्याकुरेलले बताए ।

“सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनःनिर्माणमा बजेट खर्च हुनेछ, यसबाट मौलिक सम्पदाको संरक्षण हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ” उनले भने ।

भूकम्पबाट क्षतिग्रस्त विश्वसम्पदा सूचीमा परेका सात क्षेत्रको संरक्षण तथा विकासको अध्ययनका लागि पनि बजेट विनियोजन गरिएको आयोजनाले जनाएको छ । कार्यक्रम अन्तर्गत प्रत्येक क्षेत्रको अध्ययनका लागि २० लाख र विकासका लागि चालू आर्थिक वर्षभित्र पाँच करोड बजेट परिचालन हुनेछ ।

कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्रको अध्ययन एवं विकासका काम हुनेछन् । उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका दरबार स्क्वायरको संरक्षण र संवर्धन यसै अन्तर्गत गरिनेछ । अध्ययन तुरुन्तै प्रारम्भ हुने र अध्ययनको प्रतिवेदनलगत्तै निर्माण शुरु हुने आयोजनाले जनाएको छ । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ००:००