फागुन २६, डोटी । जिल्लाको जोरायल गाउँपालिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य बनाउने अभियानको शुरुवात गरेको छ । उक्त अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरण लगायतका काम गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
उनले भने, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य पर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु प¥यो ।” उक्त गाउँपलिकाका अधिकांश ग्रामीण क्षेत्रका महिला अझै पनि घरैमा सुत्केरी हुन थालेको खबर आउन थालेपछि घरमा हुने सुत्केरी तथा बाल मृत्यु दरलाई शून्य बनाउने अभियानको शुरुवात गरेको गाउँपालिकाका कार्यकारी अधिकृत समिर भण्डारीले जानकारी दिए ।
उनले भने, “ग्रामीण तथा स्वास्थ्यको पुहँचबाट टाढा रहेका महिला घरैमा सुत्केरी गराउन थालेका कारण हामीले यो अभियान चलाएका हौँ ।” घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उनको भनाइ थियो ।
उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब लगायतले सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् । उनले भनिन्, “हामीले सञ्चालन गरेको अभियानमा सबैले सहयोग गर्ने प्रतिबद्धता जनएका छन्, अभियान सफल हुने अपेक्षा लिएका छौँ ।”
घुम्ती शिविरबाट नागरिकता
सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा जिल्लाको सायल गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट ६४९ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा ६५० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको उक्त घुम्ती शिविरमा गएका डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।
उनले भने, “गाउँबाट सदरमुकाम आएर नागरिकता लिन नसक्नेका लागि शिविर सञ्चालन गर्दा धेरैले राहत पाए ।” सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार उक्त शिविरबाट ४७७ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच, १०० ले पशुसेवा, ६० जनाले कृषि सेवा, ३५ जनालाई अपाङ्गता परिचयपत्रको लागि सिफारीस, २५० जनालाई बहुक्षेत्रीय पोषणसम्बन्धी जानकारी लगायतका सेवा प्रदान गरिएको छ । रासस


प्रतिक्रिया