१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै २५ हजार कर्मचारी समायोजन हुन बाँकी



फागुन २४, काठमाडौं । समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेको संघीय सरकारले जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए ।

उहाँका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१ हजार ५६५ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये धेरै जना सङ्घमा भएका छन् । सङ्घमा ४७ हजार ९२० आवश्यक कर्मचारीमध्ये ३४ हजार ३९१ कर्मचारी समायोजन भइसकेका छन् भने बाँकी १३ हजार ५२९ जना छन् ।

प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको आधा पनि कर्मचारी समायोजन भएका छैनन् । सरकारले प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको छ तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेका छैनन् ।

प्रवक्ता अधिकारीका अनुसार प्रदेशमा ७ हजार ४८६ र स्थानीय तहमा ७ हजार ६६८ कर्मचारी समायोजन गरिएको छ । प्रदेशमा आवश्यकभन्दा ३ गुणा कम र स्थानीय तहमा ९ गुणा कम कर्मचारी समायोजन भएका छन् । यस्तै मन्त्रालयले अन्य कर्मचारीलाई फाजिलमा संघमा रहने गरी समायोजन गरेको छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा कर्मचारी समायोजन गर्न कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमध्ये एक रोज्न आग्रह गर्दै फाराम भराएको थियो । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००