१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगङ्गा गाउँपालिकाः सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण



फागुन २४, म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ८५ लाखको लगानीमा निर्माण गरेको भवन स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

अठार महीनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७२ मा शुरु भएको भवन निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरवाहीका कारण तीन वर्षमा बनेको वडाध्यक्ष जीवन मल्लले बताए । उन्नाइस कोठा भएको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, श्यया रहने छुट्टाछुट्टै कक्ष छन् । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री पनि छ ।

निर्माण कम्पनीका प्रतिनिधि पवनकुमार मल्लले नाकाबन्दी, चुनाव लगायतका कारणले भवन निर्माणमा ढिलाइ भएको बताए । गाउँपालिको ३ नं वडाका बासिन्दाले सेवा लिने पिप्ले स्वास्थ्यचौकी हाल जीर्ण र साँघुरो कोठा भएको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ ।

मालिका गाउँपालिका–४ च्युरीबोट र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा निर्माण भएको भवन हस्तान्तरण भइसकेको छ । मङ्गला गाउँपालिका–३ बरङ्जामा निर्माण भएको स्वास्थ्यचौकीको भवन पनि हस्तान्तरणको तयारीमा छ । देवीस्थान, घार र कुहुँ स्वास्थ्यचौकीको भवन निर्माणकार्य समेत अन्तिम चरणमा पुगेको छ ।

हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्यचौकीका भवन निर्माणाधीन अवस्थामा छन् । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको थियो । सदरमुकामस्थित बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

नाली निर्माण शुरु

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा ढल व्यवस्थापनका लागि पक्की नाली निर्माण शुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समितिमार्फत नयाँ बजार क्षेत्रमा नाली निर्माण गर्न लागिएको हो । नाली निर्माणका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले आठ लाख ६४ हजार विनियोजन गरेको वडाध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिए ।

उपभोक्ताले थप एक लाख दुई हजार बराबरको श्रम तथा नगद जुटाएर नाली बनाउन लागेका हुन् । एक सय १३ मिटर नाली बनाउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष मिराज गौतमले बताए ।

विसं २०७६ जेठ ३० गतेसम्म आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्य अघि नै सक्ने तयारीसहित काम अघि बढाइएको छ । नाली निर्माण भएपछि एक सय २५ घरधुरी लाभान्वित हुने समितिका सचिव थमन गौतमले बताए । नाली निर्माण भएपछि सरसफाइमा सहयोग पुग्ने र फोहरको समस्या कम हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००