ध्रुवसागर शर्मा
फागुन १७, गलेश्वर । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।
असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुला लगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानी लगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।
असिनापानीका कारण खबरामा मात्रै १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । कार्कीको मात्रै चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।
असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।
नगरपालिकाको खबरा लगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रूपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिनापानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गर समेत झारेको छ ।
नदीजन्य वस्तुको स्थानान्तरण
म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्वारा गाउँतर्फ स्थानान्तरण गरी गाउँ संरक्षण गर्ने काम शुरु भएको छ ।
विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तररूपमा नदी कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । करीब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् ।
यस वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम थालिएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका ६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करीब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु ९ढुङ्गा, गेगर, बालुवा० आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको हो ।
नदीले बगरफाँटको करीब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वरफाँट भएको गाउँ हो ।
आगलागीबाट चौध बाख्रा मरे
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् । स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिए ।
हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो हावाहुरीले नजिकै रहेको सुकेको घाँस र सेउलामा सल्कन गई आगलागी भएको हो । अगलागीमा परेर चार बाख्रा, दुई बोका र आठ पाठापाठी जलेर मरेको पीडित परिवारले जनाएको छ । आगलागीबाट करीब ४० हजार बराबरको काठसहित २० हजार बढी खर्चिएर बनाइएको खोर पूर्ण रुपमा जलेको छ । रासस


प्रतिक्रिया