फागुन ११, बनियानी । झापाको कन्काई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ ।
आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
“केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोगार बनाउन तालीम र ऋण दिने कनकाई पहिलो स्थानीय तह हो,” पोखरेलले भने, “कार्यविधि बनाएर काम अघि बढाएका छौँ, यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”
नगरपालिकाले चालू आर्थिक वर्षमा सुरू गरेको युवा स्वरोगार कार्यक्रमका लागि ५२ लाख रुपैयाँ विनियोजन गरेको छ । पहिलो चरणमा कोषको रकमबाट २० युवालाई २४ लाख रुपैयाँ लगानी गरिसकिएको छ ।
“तरकारी खेती र पशुपालन तालीम दिएर १ लाख रुपैयाँदेखि डेढ लाख रुपैयाँ सहुलियत ऋण दिएका छौं,” पोखरेलले भने, “ पोखरेलले भने “दोस्रो चरणमा मजदूर वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्छौं ।”
नगरपालिकाले दोस्रो चरणअन्तर्गत हेयर कटिङ, प्लम्बिङ, हाउस वायरिङलगायतका क्षेत्रमा काम गर्नेलाई आवश्यक तालीम दिएर रकम प्रदान गर्नेछ । तालीमपछि प्राप्त रकमबाट युवाले पेशा÷व्यवसाय सञ्चालनार्थ आवश्यक उपकरण खरीदमा रकम खर्चिनु पर्नेछ ।
दोस्रो चरणका लागि पनि निवेदन माग गरिसकिएको र प्राप्त निवेदनका आधारमा छनोटमा परेका युवालाई रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत युवालाई २१ लाख रुपैयाँ ऋण दिने छ ।
बढ्दो विदेश पलायन रोक्न र स्वदेशमै स्वरोगार बन्न युवालाई मद्दत गर्न कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताइन् । नगरपालिकाले ३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराएको हो । रासस


प्रतिक्रिया