२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेप्सीकोला–सल्लाघारी सडकः २ वर्षमा १० प्रतिशत काम



फागुन १०, काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारी सम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।

मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनका अनुसार काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको छैन ।

स्थानीयवासीले घरको मात्रै नभएर जग्गाकोसमेत मुआव्जा माग गरिरहेको उनले बताए । उनले भने, “जग्गाको मुआब्जा दिने व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।”

अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि प्रगति नभएको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार स्थानीयले सङ्गठीत रुपमा मुआव्जाको माग गरिरहेकाले स्थानीय तहले चाहेर पनि केही गर्न सकेका छैनन् ।

४ दशमलव पाँच किलोमिटर लम्वाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि आगामी वर्ष सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको थियो ।

काठमाडौं उपत्यकामा आयोजनाले ११ वटा सडक विस्तारको काम शुरु गरे पनि कामले गति लिनसकेको छैन । काठमाडौं र ललितपुर जिल्लाका पाँच पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना शुरु भए पनि भौतिक प्रगति कम छ । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ००:००