२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा सडक कालोपत्र शुरु



फागुन १०, मङ्गलबारे । चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडारको ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत ५९ करोड ८२ लाखको बजेट रहेका दुई सडक कालोपत्र गर्ने आयोजना शुरू भएको हो ।

उक्त बजेटले नेपालटार–शान्तिडाँडा–मङ्गलबारे–धुसेनी–गजुरमुखी–इभाङ–चतुरेमोड–दमक सडकको माङ्सेबुङ २ इभाङको तिखेगोलाई देखि माङ्सेबुङ ३ चतुरेसम्म १३।२७९ किलोमिटर सडक कालोपत्र गरिने भएको छ ।

त्यस्तै सोही बजेटले मङ्गलबारे–पुङफुङ–एकातप्पा–सिकारीभञ्ज्याङ–फाकफोकथुम–रवि सडकको मङ्गलबारे बसपार्क देखि सिकारीभञ्ज्याङ जाने साढे नौ किलोमिटर सडक कालोपत्र गरिने भएको छ ।

गजुरमुखीधाम देखि साढे दुई किलोमिटर पश्चिम तीखेगोलाई देखि चतुरे सम्मको सडक कालोपत्र गर्न थालिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

आयोजनाका लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैंक एडिबी को ८० प्रतिशत ऋण सहयोगमा कालोपत्र हुने भएको छ । गत मङ्सिर २५ गते आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलिडारबीच सम्झौता भइसकेको छ ।

निर्माण हुने दुवै सडक कृषि सडकको मापदण्डका आधारमा निर्माण हुने भएका हुन् । ३।७५ मिटर चौडाइको कालोपत्र र नालीबाहेक ५।२५ मिटर सबवेससहित नाली निर्माण हुने भएको निर्माण कम्पनीका निर्देशक दीपक गौतमले जानकारी दिए । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ००:००