१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्नावतीका २०० घरमा बिजुली बलेपछि स्थानीयवासी हर्षित



फागुन ९, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ६ रत्नावतीका २०० घरमा यतिबेला बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् ।

साविकको रत्नावती गाविसको ६, ७, ८ र ९ नं वडाका २०० घरधुरीले विद्युत् सुविधा विस्तार भएको साउ खोला जलविद्युत् आयोजनाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । गाउँकै १३ किलोवाट र १८ किलोवाटका दुईवटा लघुजलविद्युत् परियोजनाबाट गाउँ झिलिमिली भएको हो ।

‘‘अहिले २०० घरमा नै विद्युत् मिटर जडान गरेका छौँ, प्रतिमहीना १५० र प्रतियुनिट ३० लिने गरेका छौँ’’ आयोजनाका अध्यक्ष एवं फिक्कल गाउँपालिकाका अध्यक्षसमेत रहेका कार्कीले भने ।

विद्युत् सुविधापछि विद्यार्थीलाई पढ्न पनि सहज हुनुको साथै मट्टितेल र टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । दिउँसोको समयमा विद्युत्को सदुपयोग गर्दै कुटानीपिसानीको मिल सञ्चालन गर्ने लक्ष्य रहेको छ अध्यक्ष कार्कीले भने । आयोजनाको रेखदेख गर्न र बिजुलीको महशुल उठाउन दुई जनाले रोजगारीसमेत पाएका छन् ।

स्थानीयवासीले ३० लाख बराबरको श्रमदान र १९० घरले प्रतिघर पाँच हजार ५०० का दरले दिएको रकमबाट बिजुली बाल्न सफल भएको उनले बताए । स्थानीय खोलाबाट निकालेको बिजुलीबाट गाउँ झिलीमिली भएको र विद्युत् सुविधाले विस्तारै गाउँको विकास हुने स्थानीयवासी पदम तामाङको विश्वास छ । विद्युत् सुविधाले बत्ती बाल्नको अतिरिक्त स्थानीयवासीको सञ्चारमा पहुँच पुगेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको प्रतिकिलोवाट चार लाखका दरले ७२ लाख, सङ्घीय सांसद गणेशकुमार पहाडीको संसदीय कोषबाट छ लाख, फिक्कल गाउँपालिकाको पाँच लाख र जनश्रमदान गरी एक करोड २७ लाखको लागतमा आयोजना सम्पन्न भएको इञ्जिनीयर सञ्जीव उपाध्यायले जानकारी दिए ।

२०७१ सालबाट शुरु गरिएको आयोजना हालै सम्पन्न भएको उनको भनाइ छ । भूकम्प प्रभावित जिल्लामा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन गर्न र राष्ट्रिय प्रसारणको लाइन नपुगेको स्थानमा केन्द्रले प्रति किलोवाट चार लाखका दरले थप सहयोग गरेको थियो । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार ००:००