२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामो समयदेखि अलपत्र कुशहा–बेल्ही सडक निर्माण शुरु



फागुन ९, लहान । लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु गरेको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो ।

सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएपनि ठेकेदार कम्पनीले काम अलपत्र छाडेर सम्पर्कविहीन भएको समाचार विभिन्न सञ्चारमाध्यममा छापिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले गत कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजसँग सो सडकको सम्पूर्ण विवरण माग गरेको थियो ।

अख्तियारले छानबिन थालेपछि ठेकेदार कम्पनीले सडकको काम तीव्ररूपमा अघि बढाएको हो । कम्पनीले धमाधम काम अघि बढाए पनि सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृतसञ्जीवनी जेभी, काठमाडौं नामक ठेकेदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको थियो । करीब दुई वर्षअघि नै सडकमा हालिएको ग्राभेलमै ठेकेदार कम्पनीले अहिले धमाधम कालोपत्र गर्न शुरु गरेकाले सडक छिट्टै भत्किन सक्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

११ करोड १ लाख ७९ हजार ५५२ को लागतमा सञ्चालित योजना अन्तर्गत निर्माणाधीन सो सडक छेउमै पानी बगाउनका लागि नाला र वृक्षरोपण गर्नुपर्नेछ । तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने हालसम्म कालोपत्रे गरिएका सडकका कतिपय ठाउँ उप्किनुको साथै खाल्डाखुल्डी समेत भएको स्थानीयवासी बताउँछन् ।

सडक र नाला निर्माणमा लापरवाही देखिए पनि तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलेमतोमा सात करोड ३५ लाख ९४ हजार ३४५ निकासा भएको छ । कामको उचित मूल्याङ्कन नगरी कर्मचारीको मिलेमतोमा बढी रकम भुक्तानी दिइएकाले ठेकेदार कम्पनी सडकलाई अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ ।

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहाबजारदेखि बलानबिहुल गाउँपालिकामा पर्ने भारतीय सिमावर्ती क्षेत्र बेल्हीसम्म करीब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजना अन्तर्गत सडक छेउमा वृक्षरोपणसमेत गर्ने भनिए पनि त्यसमा पनि चरम लापरवाही भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

योजनाअन्तर्गत नाला निर्माणमा पनि ठेकेदारले व्यापक अनियमितता गरेकाले छानबिन गर्नुपर्ने बलानबिहुल गाउँपालिका–५ का वडाध्यक्षसमेत रहेका स्थानीयवासी मो हन्सु बताउछन् । ठेकेदार कम्पनीले कमिशनका लागि अन्य साना ठेकेदारमार्फत काम गराउँदा समयमा सडक निर्माणको काम पूरा नभएको र भएका काम पनि गुणस्तरहीन भएकाले छानबिन हुनुपर्ने सांसद चौधरीको माग छ ।

प्रदेश सरकार अन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख राजकुमार गोइतले सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको बैंक सुनिश्चितका लागि रोक्का गर्ने गरी प्रक्रिया शुरु गरेपछि सडकको काम पुनः सञ्चालन भएको बताए ।

सडक निर्माणमा कमीकमजोरी भएकाले छिट्टै सडक उप्किएको र नालामा समेत केही क्षति भएकाले सोको मर्मतसमेत सम्बन्धित ठेकेदारबाटै गराउने प्रमुख गोइतको कथन छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार ००:००