१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण



फागुन २, सप्तरी । प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गरे ।

सो अवसरमा उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेकाले सामाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आवश्यक रहेको बताए ।

छोरी जन्मिनेबित्तिकै अब लाखपति भएर जन्मिने बताउँदै मुख्यमन्त्री राउतले महिला सशक्तीकरणका लागि प्रदेशमा माघदेखि जन्मिने छोरीका लागि एक लाखको शिक्षा बीमाको नीति शुरु गरिएको जानकारी दिए ।

अभियानमा मुख्यमन्त्रीको नाम जोडिए पनि कार्यक्रममा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए । मुख्यमन्त्री राउतले भने, “महिला हिंसा, दाइजो उन्मूलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मूल गर्न ल्याइने कानूनमा कडा प्रावधान राखिने छ ।”

प्रदेश नं २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकाले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन उनीहरूलाई साइकल वितरण लगायत विभिन्न कार्यक्रम शुरु गरिएको अभियानकी प्रमुख प्रियंका यादवले बताइन् । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार ००:००