Logo

भीमसेन थापा गाउँपालिकामा खानेपानी आयोजना निर्माण सम्पन्न



फागुन १, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका १ निवेलमा करीब ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेट अन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

कूल ५९ लाख ५३ हजार ४२ को लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट भीमसेन थापा गाउँपालिका निवेलका ४५ घरपरिवारले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । उक्त आयोजना सम्झौता भएको करीब तीन महीनामा नै निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए ।

मन्त्रालयले करीब ९४ लाख ६८ हजार रकम लागत अनुमान गरेको भए पनि स्थानीय उपभोक्ता समितिको श्रमदानसहित अनुमान गरिएको भन्दा कम खर्चमा आयोजना सम्पन्न भएको उनले बताए । उक्त आयोजनामा उपभोक्ता समितिले १२ लाख १२ हजार बराबरको श्रमदान गरेको आयोजनाका इञ्जिनीयर इन्द्र प्रताप बोहोराले जानकारी दिए ।

स्थानीय चिउरीगैरास्थित सुपुङ्गे खोलाको मुहानदेखि डेढ किलोमिटर दूरीबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बाँनियाले जानकारी दिए । पानी वितरणका लागि ३५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र सबै घरमा धारा बनाई पानी वितरण गरेको उनको भनाइ छ ।

विसं २०७२ वैसाख १२ गतेको बिनासकारी भूकम्पले यसअघिको आयोजनामा पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्