१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा प्राविधिक आन्दोलित



नवीनबाबु अधिकारी

माघ २९। सिन्धुली । घ्याङ्लेख गाउँपालिका–५ शान्तेश्वरीका भूकम्पपीडितले इञ्जिनीयरहरूले काम नगर्दा आफूहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । पुनःनिर्माणमा संलग्न इञ्जिनीयरसहित प्राविधिकले यतिबेला सिन्धुलीसहित १४ भूकम्पप्रभावित जिल्लाका पुनःनिर्माणको काम ठप्प पारेका छन् ।

सवइञ्जिनियर रणबहादुर रानालाई घ्याङ्लेख गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार कर्माचार्र्यले कुटपिट गरेको भन्दै प्राविधिकहरू आन्दोलनमा उत्रिएका हुन् । कर्मचार्यमाथी कारवाहीको माग गर्दै सबै प्राविधिक आन्दोलनमा उत्रेका हुन् ।

माघ २४ गते वडाध्यक्ष कर्माचार्र्यले आफूलाई कुटपिट गरेको भन्दै प्राविधिक रानाले शान्तेश्वरीस्थित प्रहरीचौकीमा निवेदन दिएका थिए ।

प्राविधिकको आन्दोलनका कारण भूकम्प पीडित समस्यामा परेपछि माघ २८ गते घटनाको वास्ताविकता बुझ्न सिन्धुलीमाढीबाट पत्रकारको टोली एक घ्याङ्लेख गाउँपालिकातर्फ गएको छ ।

जनप्रतिनिधिहरू प्राविधिकले काम गरेन भन्ने र प्राविधिकहरू वडाध्यक्षले कुटपिट गरेकाले काम गर्ने वातावरण नभएको बताउँदै आएका छन । “इञ्जिनीयरले दुःख दिएकाले घर बनाइए पनि किस्ता अझै पाइएन,” लाभग्राहीहरू भन्छन् ।

सिन्धुलीको विकट वडा शान्तेश्वरीका ४ सय ५ भूकम्पपीडित जनप्रतिनिधि र कर्मचारी बीचको आरोप प्रत्यारोपका कारण समस्यामा परेका छन् ।

घटनाको वास्ताविकता बुझ्न गएका पत्रकारले भूकम्पपीडितलाई विभिन्न बहानामा दुःख दिने, प्राविधिक गाउँमा नबस्नेलगायत समस्या रहेको भूकम्पपीडितले बताए ।

माघ २४ गते प्राविधिक रणबहादुर रानाले १५ भूकम्प पीडितको नामावली टाँसेपछि वडाध्यक्षसँग विवाद भएको भूकम्पपीडितको भनाई छ ।

प्राविधिक रानाले घरको नमूना देखाइ सोही अनुसारको काठे घर बनाउन भूकम्पपीडितलाई नमूना दिएपछि लाभग्राहीको सूचीमा समावेश भएका १५ भूकम्पपीडितले काठको घर बनाएका थिए । तर पछि रानाले नै ती घरपास नहुने भनेपछि वडा कार्यालयमा प्राविधिक र लाभग्राहीबीच विवाद भएको प्रत्यक्षदर्शी स्थानीय कृष्णबहादुर घ्लानले बताए ।

“इञ्जिनियरले भनेअनुसार नै घर बनाइयो । बनेको घर इञ्जिनियरलाई हेरि दिन आग्रह गर्दा उहाँले मान्नु भएन । फोटो खिचेर ल्याउ भन्नुभयो,” घ्लानले भने, “फोटो खिचेर पनि ल्याएँ । पहिला त्यही फोटो हुन्छ भन्नुभयो । पछि तेस्रोपटकसम्म फोटो ल्याउँदा पनि घरपास भएन । एकप्रति फोटो धुलाएको १ सय रुपैयाँ पर्छ । फोटो खिच्दाखिच्दा ३ हजार सकियो । तर इञ्जिनियरले घर हेर्न मानेनन् ।”

वडाध्यक्षले ‘हामी जनप्रतिनिधि हौँ, तपाईंले जनतालाई दुःख दिन पाउनुहुन्न, समस्या सुल्झाउनोस्’ भने पनि इञ्जिनियर आफै वडाध्यक्षलाई तह लगाउने भनेर कार्यक्षेत्रबाट हिँडेको घ्लानले बताए ।

“रामपुर बजारमा गएर वडाध्यक्षले आफूलाई कुट्यो भन्नुभएछ । यो झुट हो,” घ्लानले बेलिबिस्तार लाए, “तर इञ्जिनीयरले हामीलाई दुःख दिएको छ । हामीले कति दिन दुःख पाउने ?”

“काठको घर बनाएर घरपास नहुने भन्ने सूची टाँसेपछि विवाद सुरू भएको हो । “वडाध्यक्षले प्राविधिकलाई काम गर्न भनेपछि विवाद सुरू भयो,” अर्का पीडित कमल कर्माचार्र्यले भने, “प्राविधिकले एउटा कागज ल्याएर यसमा सही गर्नु भन्नुभयो । तर वडाध्यक्षले म गर्दिन भनेपछि उहाँ कार्यालयबाट हिँड्नुभयो । म पनि काठको घरको फर्म भर्न आएको थिएँ अहिलेसम्म घर बनाउन त परै भयो फारम नै भर्न पाइएको छैन ।”

जनतालाई दुःख दिने, काम नगरिदिने प्रविधिकको रबैयाविरुद्ध आफूहरू पनि आन्दोलन गर्ने कर्मचार्यले चेतावनी दिए ।

राजकुमार भोलन, हीरालाल श्रेष्ठ, रुपबहादुर विश्वकर्मा, धनबहादुर वल, सेतीमाया विश्वकर्मालगायत धेरै भूकम्पपीडितले प्राविधिकले काम नगरिदिँदा आफूहरु झन पीडित भएकोे बताए ।

वडाध्यक्ष कर्माचार्यले आफूले प्राविधिकलाई नकुटेको तर जनतालाई विभिन्न बहानामा दुःख नदिन जनताकै सामु भनेपछि सामान्य विवाद भएको दावी गरे । सामान्य विवादका बीच प्राविधिक रानाले खाली कागज ल्याएर हस्ताक्षर गर्न आग्रह गरेको र आफूले नमानेको वडाध्यक्ष कर्मचार्यले बताए ।

“मेरो यसमा सही गरिदिनुस् भनेर मेरो अगाडी कागज राखिदिनु भयो । हेर्दा त्यो हाजिरी प्रमाणित रहेछ,” वडाध्यक्ष कर्मचार्यले भने, “तपाइँले काम नगरेको दिनको म हाजिरी प्रमाणित गर्न सक्दिन । एकै दिन पुस, माघ, फागुन, चैतसम्मको हाजिर प्रमाणित गर्न मैले मिल्दैन भनेपछि उहाँले मलाई र शान्तेश्वरी हल्लाइदिन्छु भनेर हिँड्नुभयो ।”

आन्दोलनमा उत्रेका प्राविधिकले आज पनि निकास ननिक्लिए ३१ जिल्लाकै काम ठप्प पारेर आन्दोलन गर्ने बताएका छन् । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००