१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिङ्गटीको सडक सडक बलियो बनाउने ‘पेनिट्रेसन मेकाडम’



माघ २२, जिरी । उत्तरी दोलखा जोड्ने प्रमुख सिङ्गटी सडकको मोड र अफ्ठेरो भू–भागलाई बलियो तथा टिकाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ ।

यसअघि डबल बिटूमीट सरफेस ट्रिटमेन्ट (डिबिएसटी) प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीना दिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी सामान्यतया १ हजार ५०० मिटर उचाइसम्मको हावापानीमा मात्र उपयुक्त मानिन्छ ।

सरफेसको तापक्रम १८ डिग्री सेल्सियस भएपछि फस्ट लेयरमा २५ एमएमसम्मको चिप्स र सेकेण्ड लेयरमा घटीमा आठ एमएमको चिप्स विटुमिनमाथि बिछ्याएर कम्प्याक्सन गरेपछि डिबिएसटी पिच पूरा भएको मानिन्छ ।

करीब १ हजार ९०० मिटरभन्दा माथिको उचाइमा रहेको दोलखा–सिङ्गटी सडकखण्डमा सस्तो मूल्यको डिबिएसटी प्रविधिको पिचले गोलाइ तथा ओसिलो भागमा पिच नअडिएपछि करीब ८ किमी मोड तथा ओसिलो सडकखण्डमा उक्त प्रविधि अपनाइने छ ।

शुरु गरिने भनिएको ‘पेनिट्रेसन मेकाडम’ प्रविधि नेपालको जुनसुकै भूभागमा उपयुक्त मानिने प्रविधि हो । सो प्रविधिको लागत डिबिएसटीको भन्दा दोब्बर हुने गरेको सडक डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले बताए ।

माथिल्लो तामाकोशीलगायत एक दर्जनभन्दा बढी निर्माणाधीन जलविद्युत् आयोजनाका मालवाहक गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्र नगरेको भन्दै सो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले उक्त विधि अपनाउन लागेको हो । पैतिस किलोमिटर दूरीको सो सडकखण्डमध्ये हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्र भइसकेको छ ।

भूकम्पपछि एशियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्र गराइरहेको छ । यस सडकको लागत ६८ करोड ६२ लाख रुपैयाँ छ । रासस

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार ००:००