१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरी भत्ताबाट वञ्चित



दुर्गा देवकोटा

माघ २१, लम्की । टीकापुर अस्पतालमा सुत्केरी भएका ५ सय ६६ सुत्केरीले भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् ।

अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत १ हजार रुपैयाँ र नियमित गर्भजाँच गरेवापत ८ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको थियो ।

अस्पतालमा साउनदेखि माघ २० गतेसम्म १ हजार १३७ जना सुत्केरी भएका छन् । ५ सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको रु १२ लाख वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताए ।

उनले भने, “प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो, बजेट नआएपछि नगरपालिकालाई गुहार्यौं । नगरपालिकाले दिएको १२ लाख रुपैयाँ १० दिनमै सकियो ।” साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताए ।

टीकापुर अस्पतालले आमा सुरक्षाका लागि आवश्यक पर्ने बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । “साउनमा सुत्केरी भएकालाई ६ महीनापछि पाएको रकमले के काम ?” सिनियर स्टाफ नर्स कल्पना खड्काले भनिन् ।

तीन पटकसम्म भत्ता लिन अस्पताल गए पनि भत्ता पाउन नसकेको साउनमा सुत्केरी भएकी जानकी गाउँपालिकाकी कल्पना देवकोटाले बताइन् । “मसँगै सुत्केरी भएका अरूले पनि भत्ता पाएका छैनन्,” उनले भनिन् ।”

साउनमै सुत्केरी भएकी गीता विष्टले सरकारले आमाको स्वास्थ्यमा ध्यान नदिएको गुनासो गरिन् । भत्ताका लागी टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरकार्यपालिकासँग २५ लाख रुपैयाँ माग गरेको छ ।

स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले कार्यपालिकामा माग पेश गरेको बताए । प्रदेश सरकारको लापरवाहीका कारण अस्पतालमा सुत्केरी भएकाले भत्ता पाउन नसकेको रावलको आरोप छ । रासस

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ००:००