४ चैत्र २०८०, आइतबार | Mon Mar 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशः ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन



माघ २१, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रम अन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ ।

मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक १०० छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’ प्रदान गरिनेछ ।

“सरकारी स्कूल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ,” उनले भने, “यसबाट गरीब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने छ ।” मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले छोरीबुहारी छात्रवृत्ति लगायत अन्य ६ विधामा तीन करोड खर्च गर्न लागेको जनाएको छ ।

प्राविधिक उच्च शिक्षामा अध्ययन गर्ने जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि दलित छात्रवृत्ति तथा जेहेन्दार छात्रवृत्ति र कर्णाली प्रदेश स्थापनाका क्रममा शहीद भएका व्यक्तिका छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ । रासस

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ००:००